Deshko China (Epigram Collection)
“Deshko China (Epigram Collection) – Published in 2020 (2077 B.S.) by BN Pustak Bhandar
A powerful compilation of epigrams written in the context of a nation failing to find the expected path, metaphorically suggesting the rewriting of the nation’s destiny.”
मुक्तक भनेको के हो ?
मुक्तक परिचय र लेखन
मुक्तक, चतुष्पदीय (चार हरफको), आफैँमा स्वतन्त्र र अर्थ दिने पद्यात्मक रचना हो। मुक्तकमा पहिलो, दोस्रो र चौथो हरफ अनुप्रासयुक्त र तेस्रो हरफ स्वतन्त्र हुन्छ। हरफको पछिल्तिर हुने, उस्तै सुनिने शब्द/अंशलाई अनुप्रास भनिन्छ। मुक्तकका पहिलो हरफले बिषयको उठान गर्छ। दोश्रो हरफले उठानलाई थप समर्थन गर्छ। समग्रमा, सुरुका दुई हरफले पृष्ठभूमि तयार पार्छ। तेस्रो हरफ स्वतन्त्र हुन्छ र यो हरफले चौथो हरफमा मार/झट्का हान्न उपयुक्त वातावरण तयार पार्छ। चौथो हरफ वजनदार र झट्का दिने खालको हुन्छ। मुक्तक पढ्दा सररर, बहाबसंगै पढ्न सकिने हुनुपर्छ।
मुक्तक लेख्दा सकेसम्म कम भन्दा कम शब्द प्रयोग हुनु राम्रो मानिन्छ। लेख्न सिक्दैगर्दा सकेसम्म प्रत्येक हरफमा २०/२२ भन्दा कम अक्षर भए राम्रो हुन्छ। कुनै हरफ लामो, कुनै छोटो पनि त्यति राम्रो मानिँदैन। सकेसम्म सबै हरफहरू एकै लम्बाइका हुनुपर्छ ताकि सिंगो मुक्तकलाई झट्ट हेर्दा चिटिक्क मिलेको आयतकार देखियोस्। चार हरफको र अनुप्रास मिल्दैमा उक्त रचना मुक्तक हुन सक्दैन। मुक्तकले भाव र गहिराइको माग राख्दछ। एउटा मुक्तकले कुनै एक विषयमा बोलेको हुन्छ। मुक्तकका हरफहरू बीच एक-आपसमा अन्तरसम्बन्ध हुनुपर्छ।
तल पढ्नुहोस् केही आगो पार्ने मुक्तकहरू
मदतकारी हात मात्रै यो मनमा गिनिँदो रहेछ ।
आफ्नो र पराइ समय आएपछि चिनिँदो रहेछ ।
काँचो धागोको सम्बन्ध कमजोर नै हुन्छ साथी ..
अलिकति जोड्ले कस्दा नि यसै छिनिँदो रहेछ ।
जस्तोछु, ठिकैछु, गोहीले झैै आँसुझार्नु पर्दैन साथी ।
वनको काँडालाई कहिल्यै पनि तिखार्नु पर्दैन साथी ।
जङ्गलको राजा भनेर तेत्तिकै नाम राखिएको हो र
बुझ्नू, सुतुरमुर्गले जस्तो सिंहले फूलपार्नु पर्दैन साथी ।
गधाले पिठ्युँमा शास्त्र बोकी हरिद्वार जाने भो ।
साथमा कौवा, बाज र गिद्धहरू पनि लाने भो ।
त्योभन्दा पनि अचम्म लाग्दो ! यो छ साथी हो
हेर्दै जाऊ, यहाँ भ्यागुतोले अजिङ्गरै खाने भो ।
मतलबी यो सहरमा यहाँ विश्वास किन्नै गाह्रो भो ।
राजगोमन हिँड्ने यो बाटोमा साँप हिन्नै गाह्रो भो ।
कस्मेटिक बजारमा आँखाले धोका खाएपछि साथी !
भिडमा कुन द्रौपदी हुन्, कुन सीता चिन्नै गाह्रो भो ?
अहम्को दरबारभित्र जसको राजकीय बास हुन्छ ।
त्यसै गरी बाँचेर पनि जीवनभरि जिउँदै लाश हुन्छ ।
धन कमाई पहाडै बनाए पनि के अर्थ भो र साथी
बुझ्नू, त्यही व्यक्ति सँधैभरि दरिद्रताको दास हुन्छ ।
गोहीलाई दुःख सुनाएर उसले आँसु झार्दैन साथी ।
मान्छेजस्तै देखिँदैमा बाँदरले आशौच बार्दैन साथी ।
हड्डी देख्दैमा पुच्छर हल्लाउने जन्तुको भर नपर्नु
नपत्याए पर्गेल्नू भुस्याहा कुकुरले बाध मार्दैन साथी ।
ठाकुर शर्मा भण्डारी
राजबाबु श्रेष्ठ सागरका ‘देशको चिना’
पिता पूर्णबहादुर श्रेष्ठ एवं माता तेजमाया श्रेष्ठका सुपुत्र राजबाबु श्रेष्ठ‘सागर’ २०२८ सालभाद्र १४ गते ईटाटार १, महोत्तरीमा जन्म भएको हो । स्नातकसम्मको अध्ययन गरेका सागर नेपाली साहित्यको क्षेत्रमा विशेषतः गीत, गजल, मुक्तक, हाइकूमा कलम चलाउनुका साथै अन्यकथा, उपन्यास विधामा कलमच चलाउने व्यक्तित्व हुन् । १४ वर्षकै उमेरमा लेखिएको ‘प्रेम फैसला’ नाटक पहिलो रचना हो र यसको पाँच भागसम्मको लेखन गर्नु र अभिनयमा उत्तिकै चाख राख्ने सागरले २२ वर्षको उमेरमा ‘घर एक नर्क’ फिल्मको स्क्रिप्ट तयार गरेको र टेलीचलचित्रमा अभिनय गरेको पनि देखिन्छ ।
पहिलो प्रकाशित उपन्यास ‘बन्दफ्रेमभित्रको चिठी’ हो । यो उपन्यास साउदी अरबबाट २०५७ सालमा प्रकाशित भएको हो । कतिपय किताबहरूको समीक्षा गरी विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् ।
२०७७ सालमा ‘हराएका छोराहरू’ (कवितासङ्ग्रह) र ‘देशको चिना’(मुक्तकसङ्ग्रह) सँगै दुई पुस्तक बिएन पुस्तक संसार प्रालिले प्रकाशनमा ल्याएको छ । नेपाली साहित्यको क्षेत्रमा योगदान दिएवापत कोलमोतेश्वर सहकारी संस्थाबाट पुरस्कार र नोबेल साहित्य प्रतिष्ठानबाट पुरस्कार प्राप्तभएको छ ।
ज्योति साहित्य प्रतिष्ठान, पुष्पपराग साहित्य प्रतिष्ठान, शैली साहित्य समाज, शिवपुरी सन्देश, जनमत र कपनबानेश्वरजस्ता साहित्यिक संस्था एवं पत्रिकाहरूसँग संलग्नता रहेको छ भने उनको ‘तर म आपूmलाई मान्छे हुँ भन्छु’ शीर्षकको कविताभने मैथिली, नेपाल, अंग्रेजी, बर्मेली, तामाङ र नेपाली (६ भाषामा) रूपान्तरित भएको छ ।
‘देशको चिना’भित्रका मुक्तकहरूको विश्लेषणात्मक दृष्टिकोण
चर्चाको विषय हो – राजबाबु श्रेष्ठ ‘सागर’द्वारा लिखित पछिल्लो समयमा आएको महत्वपूर्ण मुक्तकहरूको सँगालो ‘देशको चिना’ । बहुविधामा कलम चलाए पनि सागरका मुक्तक चोटिलापोटिला भएको कारण पनि भाषा–साहित्यको क्षेत्रमा देखिएको निरन्तरता नै हो । सर्वप्रथम मुक्तक सङ्ग्रहको प्रारम्भको पृष्ठ हेर्दा नै मन छुन्छ ।
मेरी बूढी हजुर आमा दिनहुँ एउटा माला बुन्छिन् ।
उनी धागोमा पूलसँगै देशका सपनाहरू उन्छिन् ।
निदाउँछिन् सपनाका सिरानी लगाई चेपेर देश ।
बिउँझेपछि उनी आप्नै देश सम्झेर धुरुधुरु रुन्छिन् । (पृष्ठ ११)

कति सुन्दर छ मुक्तकको मुक्तभावना । देशप्रतिको भावनालाई एउटी आमालाई प्रतीक बनाएर सुन्दर ढंगबाट अभिव्यक्ति दिइएको छ । यसभित्र रहेका सबै मुक्तक यस्तै चतुष्पदीय र पहिलो, दोस्रो र चौथोमा अन्त्यानुप्रास रहेको छ र तेस्रो अनुप्रासमुक्त छ ।
यसरी लेखिएका मुक्तकहरूको विषयमा पनि विविधता रहेको छ । यसको मूल शीर्षक ‘देशको चिना’ले पनि विविधता देखाउँछ । देशमा देखिएका विविध पक्ष वा समस्यालाई लिएर नै कवि भावना व्यक्त भएको देखिन्छ ।
यसभित्रको समस्या, आरोहावरोह, उचनीचको भावना, राजनीतिक सन्दर्भ, सांस्कृतिक पक्ष आदिले देशको सन्दर्भ लिइएको छ । कसैको व्यक्तिगत चिनामा जसरी एउटा व्यक्तिका कुराहरूलाई ग्रह, लग्नअनुसार चिनाउन खोजिएको हुन्छ, त्यस्तै यहाँ देशलाई वा देशको अवस्थालाई चिनाउन खोजिएको छ । तसर्थ ‘देशको चिना’ शीर्षक छानिएको अनुभूति हुन्छ ।
यस अर्थमा शीर्षक सार्थक रहेको देखिन्छ । यसै शीर्षकलाई छोएर लेखिएको एउटा सान्दर्भिक मुक्तक हेरौँ, जसले यथार्थ स्थितिको बोध लाक्षणिक रूपमा गराउँछ
लौ न ए ज्योतिषीबा ! मेरो देशको भाग्य हेरिदेऊ ।
साढे सात खड्ग छन् भने अर्को रेखा कोरिदेऊ ।
त्यति गर्दा पनि हाम्रा देशका दशाहरू टर्दैनन् भने
च्यातिन लागेको मेरो देशको चिना नै फेरिदेऊ । (पृष्ठ २१)
यसमा दुई सय दश मुक्तक रहेका छन् । मुक्तक भनेको नै चार पंक्तिमा च्वाट्ट मुटु छुने गरी विषयलाई उठान र बैठान गर्न सक्नु हो । त्यो सागरका मुक्तकमा भएको पाइन्छ । यस भित्रका मुक्तकमा अनेकौ विषय लिइएको छ । जसमा सय वर्ष नाघेका राष्ट्रकविलाई सम्झिने क्रममा सुन्दर भावना व्यक्त भएको छ
राष्ट्रकविले आज सय टेक्नु भो खुसी लाग्छ ।
बाँच्दै आपूmले ऋतम्भरा लेख्नु भो खुसी लाग्छ ।
यमराजको अखडाबाट कुस्ती लडी फर्किएर
आफैले शताब्दी बनेको देख्नु भो खुसी लाग्छ । (पृष्ठ ११)
अरूको सेवा गर्ने मानिसलाई भगवान् देख्ने विचार र स्वाभिमानका विचार पोखिएका मुक्तकमा एउटा उदाहरण हेरौँ ः
आपू कहिल्यै नझुक्ने स्वाभिमानजस्तो लाग्छ मलाई ।
भाषासंस्कृति देशको पहिचानजस्तो लाग्छ मलाई ।
आफ्नो भाग काटी दुःखी र भोकाहरूलाई खुवाउने
जो कोही हुन् उनीहरू भगवान्जस्तो लाग्छ मलाई । (पृष्ठ २४)
जो आए पनि देशमा कुनै परिवर्तन भएन, जुन जोगी आए पनि कानै चिरेका जस्ता अनेक उखानटुक्काको पनि प्रयोग मुक्तकमा भएको छ भने जसभित्र क्षमता छैन त्यस्ता पालेर पोसेर कुनै काम लाग्दैन । मानिस आफै म यस्तो हुँ भनेर वा मानवले मानवको सेवा गर्न सक्छ । केही पनि गुदी नभएका व्यक्तिलाई ठाउँ मात्र दिएर सुध्रिने छैन भन्ने कुरालाई व्यक्त गरिएको छ ।
गधा पोसेर हात्ती कहिल्यै त्यो हुनै सक्दैन ।
भ्यागुतो उफ्रेर आकाश कहिल्यै छुनै सक्दैन ।
धेरै देखिए मनको सफा छु भन्नेहरू पनि
छातीबाट मुटु निकालेर कसैले धुनै सक्दैन । (पृष्ठ ३६)
जिन्दगीको भावना कतिपय मुक्तकमा व्यक्त भएको छ । जिन्दगी सुखमय पनि छ दुःखमय पनि छ अर्थात् जिन्दगीमा कहिले खुसी, कहिले आँसु र कहिले रमझमको अवस्था आउँछ र च्यातिएको जिन्दगीलाई सिउन नसकिने कुरा विषय बनेका छन् । जिन्दगी हेर्ने दृष्टिकोण मुक्तककारको आफ्नो हो । मृत्यु जीवनका परम सत्य हो, समय भएपछि कोही यहाँ रहनेवाला छैन । मुक्तककारले अनुभूत गरेको जिन्दगीको व्याख्या अनेकार्थक रूपमा पनि यसरी आएको छ
नेपथ्यमा रोएर बाहिर हाँसेको के जिन्दगी?
रहर सबै मारी माया साँचेको के जिन्दगी?
मनभित्र पिरैपिरको आँसुको सागरमा
मुटुमाथि ढुङ्गा राखी नाचेको के जिन्दगी? (पृष्ठ ४१)
यस संग्रहमा सबै मुक्तकहरू उत्कृष्ट छन् भन्ने होइन । सरल भाषाको प्रयोग छ । कतिपय साधारण अर्थमा अभिव्यक्त वा भावनात्मक उचाइ छुन नसकेको हो कि ! भन्ने पनि अनुभूति पाठकलाई हुन सक्छ । जस्तै
प्राज्ञहरूबाट साहित्यका घोर निन्दा राम्रो हुन्न ।
सहनै नसक्ने गरी प्याच्च भनेर हिँड्दा राम्रो हुन्न ।
सधैँ सम्मानित भएर बसेका सबैका हृदयमा
घृणित भएर हरामी बनेर चिन्दा राम्रो हुन्न । (पृष्ठ ४७)
प्रेम र भावनामा पनि सागरका मुक्तक अनेक रहेका छन् । प्रेममा पनि देशप्रेम वा प्रकृति प्रेम, व्यक्तिगत प्रेममा पनि अभिभावकीय प्रेम वा पतिपत्नीको प्रेमलाई धेरै मुक्तकमा विषय बनाइएको छ । अभावग्रस्त जीवनमा प्रेम पनि अपुरो अधुरो बन्छ भन्ने सन्दर्भलाई यसरी व्यक्त गरिएको छ
मलाई ऊसँग टाढा हुनुपर्ने कुनै चाहना थिएन ।
तर उनीसँग छुट्टिनु पनि त कुनै वहाना थिएन ।
मनका महलभित्रै सजाइराखेँ केवल उनीलाई
कसरी स्विकार्नु म चाँदीको सम्म गहना थिएन । (पृष्ठ ६८)
३. विषयान्तमा
हाम्रो पहिलेको समाज कति सुन्दर थियो, भावनात्मक सुन्दरता देखिन्थ्यो, सबैलाई सम्मान गर्ने भावना थियो तर अहिले समाज छाडा भएको छ । आप्नो अस्तित्व आफै बचाउन नसककेको देखिन्छ । माया–बिछोडका कुरा, दम्भ–अभिमानले मात्तिएको र भाग्यलाई सर्वोपरि ठानेर हेरिने वाभाग्वादी दृष्टिकोणका विषयलाई विभिन्न मुक्तकमा व्यक्त गरिएको छ ।
जन्मनु र मर्नुको बीचको जिन्दगीको स्थिति, धर्म–संस्कृतिप्रति अगाध प्रेम, आमा–बाबुको छोराछोरीप्रतिको व्यवहार र छोराछारीको आमाबाबुप्रति गरिने व्यवहार, राजनीतिक क्षेत्रका व्यक्तिहरूले गर्नुपर्ने कर्तव्यबाट विमुख भएका विविध सन्दर्भहरू, महिलाप्रति गरिएका क्रियाकलापहरू र महिलाले गर्ने असान्दर्भिक क्रियाकलापहरूलाई विषय बनाइएको मात्र होइनकि समाजमा देखिने निकृष्ट धारणा छुवाछुतजस्ता कुरा पनि आएका छन् विषय बनेर ।
मुक्तककारको देश समाजप्रतिको धारणा स्पष्ट रूपमा देखिएको छ । अर्थात् समाजप्रति देखिएका विविध घटनालाई निकटबाट हेर्ने गरेको प्रयास मुक्तकहरूमा देखिन्छ ।
कतिपय मुक्तकहरू अत्यन्त सरल भएर पनि सुन्दर अभिव्यक्ति र लक्षणा एवं व्यञ्जना शक्ति भएका मुक्तकहरू देखिन्छन् । उपर्युक्त उदाहरण स्वरूप देखाइएका मुक्तक धेरै छन् र पाठकलाई आकर्षण गर्ने शक्ति राख्छन् ।
मुक्तककारको सकारात्मक सोच रहेको कारण पनि आफ्नो मनको धारणा स्पष्ट आएको छ । यस्तो सुन्दर र महत्वपूर्ण कृति नेपाली भाषा साहित्यको फँटमा प्रदान गर्ने राजबाबु श्रेष्ठ ‘सागर’प्रति धन्यवाद दिँदै आप्mना कवितात्मक भावनाव्यक्त गर्दछु र यो संक्षिप्त लेखन टुङ्ग्याउँछु । राजबाबु श्रेष्ठ ‘सागर’प्रति मेरो भावना यस्तो रहेको छ
राजबाबु स्वयं एक सकारात्मक सोचमा
श्रेष्ठछन् अभिव्यक्तिमा ‘सागर’ कृतिभित्रमा ।१।
कतै मुक्तकका भाका देश–समाज निम्ति छन्
कतै ती प्रेममा बोल्छन्‘सागर’निम्ति चित्र छन् ।२।
धेरैमा नम्रता मिल्छ कतै विद्रोहको स्वर
उर्लिन्छ भावना यस्तो देखिन्छन् उच्चतातिर ।३।
कविता–जिन्दगी साथ हिँडेका देखिने हुँदा
प्रकृति–चेतना–मूल्य–मान्यता देख्छु तीव्रता ।४।
चिन्ता छ देशको पूरा समाज चित्र खुल्दछ
कल्पनाभित्रको चित्र हृदयभित्र मिल्दछ ।५।
विधा विविधमा चल्ने नाटक क्षेत्रमा पनि
अभिनय–कला–भित्र आख्यानतिर छन् उनी ।६।
स्रष्टाको सृष्टि सौन्दर्य बढून् उन्नत साधना
बर्सियून् शब्दका बिटा बधाई शुभकामना ।७।
1) Yadka Bastiharu (Collection of songs)
