"फिर्दोसको साँचो" कथासङ्ग्रहबाट
अलिखित कथा
कथाकार – राजबाबु श्रेष्ठ सागर
समय – बिहानको ७ बजे
स्थान – कुशमाढी
एकाबिहानै जेठा नेवारको घरमा वीरे कुनै कामविशेषले आउँदा माथि टाँडबाट रगत बगेर पनि तल भुइँमा सुकेर पाप्रा बनेको उसले एक्कासि देख्यो ।
उसलार्ई शङ्का लाग्यो र टाँडमाथि उक्लियो । खाटमा जेठा नेवारको नग्न लास मुढोझैँ लडेको देखेर ऊ आत्तियो । अझै उसले लासलाई ध्यानले हेर्दा जेठा नेवारको राइफल शरीरदेखि अलग भएको देख्यो । हत्या हो कि आत्महत्या उसले केही ठम्याउनै सकेन ।
ऊ आत्तिँदै तल झर्यो र “जेठा नेवार मर्यो, जेठा नेवार मर्यो” भन्दै हल्लाको डमरु बजायो ।
उत्तिखेरै गाउँलेहरू गुरुरु गर्दै जेठा नेवारको आँगनमा जम्मा भए । कोही कोही टाँडमाथि चढेर हेर्न थाले । जजसले जेठा नेवारको लास देखे तिनीहरू सबै एकाएक अचम्मित भए ।
एकान दोकान गर्दै जेठाको आँगनमा निमिषमै मान्छेहरू खाँदाखाँद भए । त्यसरी त गुन्द्रुक पनि खाँदिँदैन थियो होला । मानौँ, त्यहाँ एक मुठी हावासम्म छिर्ने कतै ठाउँ थिएन ।
एकछिनपछि गाउँको गन्नेमान्ने व्यक्ति बाबुसाहेब पनि आयो र जेठा नेवारको लासलाई हेरेर भन्यो, “यो त कसैले हत्या गरेजस्तो छ । ऐ केटा हो ! कसैले लासलाई हात नलगाओ । जाओ ! गौशाला इलाका प्रहरी कार्यालयमा गएर तुरुन्तै खबर गरिदेओ ।”
रमण छेउमै उभिरहेको थियो । ऊ दौडिँदै आफ्नो घरमा गयो र बाइक स्टार्ट गर्दै इलाका प्रहरी कार्यालयतिर दौडियो ।
रमिता हेर्नेको भिड झन्झन् बढ्दै गयो । कोही आउँदै थियो भने कोही जाँदै पनि थियो ।
यतिकैमा, रमण प्रहरीको अघिअघि बाइक दौडाउँदै आइपुग्यो । बाइकलाई स्ट्यान्ड लगाएर ऊ पुनः जेठा नेवारको मृत्युको पहेली बुझ्न भिडलाई छिचोल्दै भित्र पस्यो र टाँडमाथि चढ्दै लासनिर पुग्यो ।
पछिपछि प्रहरीको सरकारी जिप पनि धुलो उडाउँदै आएर डगरमा घ्याच्च रोकियो ।
सबै प्रहरी जवानहरू टाँडमाथि चढे र लासलाई तन्नाले घेरे । त्यहाँ देखे उनीहरूले जेठा नेवारको शरीर र राइफल अलगअलग भएको दृश्य । ससेज फ्राइ गर्नुअघि छुरीले चिरैचिरा पारेझैँ बीभत्स चिरैचिरा पारी काटिएको थियो उसको राइफल ।
“खिचिक् … !”
“खिचिक् … !”
“खिचिक् … !”
प्रहरी धनराजले विभिन्न एङ्गलबाट लास र टुक्रिएको राइफलको फोटो खिच्यो । लासलाई त्यही तन्नाले ढाकियो ।
मुचुल्का तयार पारियो गाउँलेहरूबाट र लासलाई त्यसै जिपमा हाली पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगियो ।
भिडका सबै आँखाहरू एकैसाथ जिप हुइँकिएतिर पछ्याउँदै पछिपछि कुदिरहे जिप आँखाबाट नहराउन्जेल ।
***
भोलिपल्ट जेठा नेवार आफूखुसी नै लिङ्ग काटी मरेको हो भन्ने पोस्टमार्टम रिपोर्टबाट प्रमाणित भयो।
उसको मृत्यु न कसैलाई शोक बन्यो न त समाचार नै ।
***
एक वर्षपछि
आकाशबाट एक टुक्रा सेतो बादल उड्दै आयो र रमणको छातीवरिपरि भुसुना घुमेझैँ एकछिन घुम्यो र एकाएक त्यहीँको त्यहीँ हरायो ।
रमण झसङ्ङ भई झस्क्यो । एकाएक उसले आङ जिरिङ्ङ गर्यो । उसका शरीरभरिका रौँहरू सबै एकाएक ठाठाडा भई ठडिए । उसलाई एकाएक भाउन्न भई आयो । उसलाई कुनै सेतो घोडाको छायाजस्तो आकारले पिठ्युँमा बोकी बेपत्तासँग उडाई लगेजस्तो लाग्यो ।
निमिषमै ऊ एउटा अनकन्टार जङ्गलबिचमा अवस्थित एउटा विशाल पुरानो हवेलीभित्र पुग्यो । यो हवेली योभन्दा पहिले उसले बिपनामा त के सपनामा पनि जिन्दगीमा कहिल्यै देखेको थिएन । हवेली पूर्ण रूपमा फोहरै फोहरले भरिएको थियो । जताततै माकुराको जालोले जेलिएको थियो ।
ऊ डरले थर्थर काँपिरहेको थियो । ऊ शनैःशनै बिरालोको चालमा जालोलाई चिर्दै कोठाकोठामा प्रवेश गरिरहेको थियो । उसको शरीरभरि जालो टाँसियो । मानौँ, धुनियाँले कपास फड्किँदा शरीरभरि कपासैकपास भएझैँ जालोले ऊ सेताम्मै भयो ।
हवेलीको दोस्रो कोठापछि ऊ तेस्रो कोठामा प्रवेश गर्न भनेर ढोकानिर पुग्दै थियो । अचानक कटकट कट्किँदै बन्द ढोका आफै शनैःशनै खुल्दै गयो । मानौँ, कोठाभित्र कोही पहिले नै आगन्तुक पाहुनालाई स्वागत गर्न बसेको जस्तो ।
यो दृश्य देखेर ऊ झन् डरायो । उसले दायाँ हेर्यो, बायाँ हेर्यो । आफ्नो पछि पनि केही आइरहेको छ कि भनेर पछि फर्की हेर्यो । तर अहँ, कहीँकतै चरोमुसोसम्म पनि थिएन । ऊ शनैः कोठाभित्र प्रवेश गर्यो।
“ढ्याम्म… ।”
अकस्मात् ढोका ढ्याम्म भई बन्द गरेको आवाज आयो ।
उसले पछि फर्की ढोकातिर हेर्यो तर ढोका खुल्लै थियो ।
ऊ झन्झन् डरायो र आतिँदै गयो । उसको शरीर ढक्क भई फुलेर आयो । उसको होसहवासै उड्यो । उसका शरीरभरिका रौँहरू एक्कासि जिङ्ग्रिङ्ङ भई ठाठाडा भए ।
ऊ हवेलीको अर्को ठुलो हलभित्र प्रवेश गर्यो ।
त्यो हल झन् मानव अस्थिपञ्जरै अस्थिपञ्जरले टनाटन भरिएको थियो । उसले कहीँकतै खुट्टा राख्नेसम्म ठाउँ पाएन ।
ऊ आफ्नो खुट्टाले त्यही कङ्कालहरूमाथि टेक्दैटेक्दै हलको उत्तरपूर्वको कुनामा रहेको पुरानो कुर्सी र टेबुलनिर पुग्यो । ऊ त्यही कुर्सीमा थचक्क बस्यो ।
“ढ्याम्म… ।”
निमिषमै हलभित्रका सबै झ्यालढोकाहरू “ढ्याम्म” आवाज गर्दै एकैसाथ बन्द भए । हल उत्तिखेरै अन्धकारमय भयो ।
फेरि निमिषमै निलो प्रकाशले हल प्रकाशमान भयो ।
हलभित्रका कङ्कालहरू आआफ्ना अस्थिहरू एकेक गर्दै जोडिँदै गएका निलो प्रकाशमा स्पष्ट देखिइरहेका थिए । कङ्कालहरूमा आआफ्ना अस्थिहरू जोडिइसकेपछि कङ्कालहरू सबै आआफै नृत्य गर्न थाले ।
कङ्कालहरूले नृत्य गर्दैगर्दै रमणलाई चारैतिरबाट घेरे र सबै जोडजोडले एकैसाथ हाँस्न थाले ।
फेरि निमिषमै निलो प्रकाश एकाएक अँध्यारोले कुपुक्कै निल्यो र चारैतिर अँध्यारोको कालो समुद्र फैलियो ।
उत्तिखेरै हलको पश्चिमदक्षिण कुनामा कुनै स्त्री रोएको आवाज सुनियो । त्यही आवाज निमिषमै अर्को कुनामा सुनियो । फेरि त्यही आवाज अर्को कुनामा सर्यो । हुँदाहुँदै उक्त आवाज निमिषमै उसकै छेउ आई रोयो ।
उसको सातोपुत्लो उड्नुसम्म उड्यो । ऊ आत्तिएर कहालिनुसम्म कहालियो । तर म्युट गरिएको टिभीझैँ उसको मुखबाट कुनै आवाज निस्केन । कुनै लाटालाटी इसाराले आफ्नो मनको भावना अरूलाई बुभाउन खोज्दा बोली नफुटेझैँ ऊ शब्दविहीन भयो । उसले अविरल प्रयास जारी राख्यो चिच्याउन र कराउन तर मुखबाट कुनै शब्द, ध्वनि उच्चारित भएन ।
तर उसलाई भने यो रुवाइ धेरै पल्ट कहीँ सुनेसुनेजस्तो लाग्यो ।
अकस्मात् रुवाइ बन्द भयो ।
निमिषमै प्रोजेक्टरबाट आउने फोकसजस्तो यल्इडी फोकस सेतो भित्तामा आयाताकार भएर फैलियो। एउटा कुनै छप्पन्न इन्चको टिभीजस्तै पूर्ण स्क्रिन बन्यो । त्यही आयाताकार यल्इडी स्क्रिनमा कुनै जिउँदो महिलाको सुरुवालकुर्ता लगाएकी तर टाउको नभएकी अर्ध शरीर भ्यात्ल्याकभ्यात्ल्याक गर्दै हिँड्दै गरेको दृश्य स्क्रिन जुम हुँदै गरेको स्पष्ट देखियो ।
त्यो शरीरको दृश्य योभन्दा पहिले पनि उसलाई कहीँकतै देखेदेखेजस्तो लाग्यो ।
उसले मनमनै बरबरायो, “यो शरीरको आधा भागको हिँडाइ र पहिरन मैले कहीँकतै देखेको हुनुपर्छ।”
उसले कन्चटमा चोरऔँला राख्दै दिमागमा जोड दिँदै खुब सम्झने कोसिस गर्यो तर अहँ सम्झिन सकेन।
शनैः स्क्रिनमा अर्ध शरीर जुम हुँदै आयो । स्क्रिनभरि बडेमानको शरीर देखियो । अब भने उसलाई झट्ट याद आयो ।
“अहो ! यो त जेठा नेवारकी छोरी लठ्यौरी हो ।” अनायासै उसको मुखबाट फुत्त निस्कियो ।
फेरि निमेषमै स्क्रिनबाट शरीर हरायो ।
उत्तिखेरै स्क्रिनमा टाउको मात्रै तुर्लुङ्ङ लट्कियो र त्यो अर्ध शरीर हिँड्दै आई टाउकोमा ठ्याक्क जोडियो ।
“अहो ! यो त जेठा नेवारकी छोरी हो ।” रमणले भन्यो ।
“हो, म त्यही जेठा नेवारकी छोरी लाटी हुँ । हो, म त्यही जेठा नेवारकी छोरी लठ्यौरी हुँ ।” स्क्रिनमा देखिएकी लाटीले भनी ।
“तिमी त लाटी थ्यौ त, मात्र इसाराले कुरा गथ्र्यौ । फेरि तिमी आज कसरी बोल्ने भयौ ?”
“हो, म जिउँदो हुँदा बोल्न सक्दिनँ थेँ । ऐले म त्यो लाटी हुइनँ । म त लाटीको केवल आत्मा हुँ । आत्माको कुनै जिब्रो हुँदैन । आत्माको कुनै शरीर हुँदैन । आत्माको कुनै उमेर हुँदैन । त्यसैले आत्माको कैल्यै मृत्यु हुँदैन ।”
“ऐले देखिइरहेको तिम्रो यो शरीर के तिम्रो शरीर होइन ?”
“हो, तिम्रो आँखामा मेरो यो शरीर नै हो तर म ऐले शरीरमा छुइनँ । यो तिम्रो नितान्त भ्रम हो, भ्रम। मैले त तिम्लाई केवल आफूलाई चिनाउनका खातिर लाटीको शरीर धारण गरेकी मात्र हुँ ।”
“भन, तिमी मबाट के चाहन्छ्यौ ?”
“हो, बल्ल तिम्ले मतलबको कुरा गर्यौ ।”
“तिमी पनि मतलबकै कुरा गर ।”
“पैले तिमी यो भन, लाटालाटी मान्छे हुन् कि होइनन् ?”
“हुन्, कसले भन्यो तिम्लाई होइनन् भनेर ?”
“तेसो हो भने, लाटालाटीभित्र माया, प्रेम, यौवन, बैँस र यौनका चाह हुन्छन् कि हुँदैनन् ?”
“हुन्छन्, कसले भन्यो तिम्लाई हुँदैनन् भनेर ?”
“उसो भए, मैले तिम्लाई प्रेम गर्न मिल्थ्यो कि मिल्दैनथ्यो ?”
“…”
यो पटक भने रमण निःशब्द भयो । उसले लाटीको प्रश्नको जबाफ तुरुन्तै दिन सकेन ।
यत्तिकैमा स्क्रिन ब्ल्याकआउट भयो ।
फेरि अचानक स्क्रिनमा लाटी रिसले रातोपिरो भएकी देखिई ।
“यत्ति भन, मिल्थ्यो कि मिल्दैनथ्यो ?”
“मिल्थ्यो, तर त्यस्तो प्रेमलाई एकतर्फी प्रेम भन्छन् ।”
“मैले तिमीसँग प्रेमप्रस्ताव राखेकी भए के तिमी मसँग प्रेम गथ्र्यौ ?”
“गर्दिनँ थेँ ?”
“किन ?”
“बारीमा फुल्ने फूल बारीमै फुल्नुपर्छ, आकाशमा तारा बनेर फुल्ने चाहा गर्ने होइन ।”
“लाटालाई चिन्छौ ?”
“को लाटा ?”
“माथि नेवारटोलको लाटा ।”
“ए, चिन्छु ।”
“मैले बुझेकी थेँ, पित्तल र सुन कैल्यै एउटै हुनै सक्दैन । त्यसैले, ऊ लठ्यौरो भएको कारण मैले ऊसँग प्रेम गरेकी थेँ । मलाई लाग्यो, ऊ मजस्तै भएको कारण मेरो भावना बुझ्न सक्छ ।
त्यसैले, मैले उसलाई प्रेम गर्न थालेँ । उसलाई मेरो आफ्नो सम्पूर्ण यौवन सुम्पिदिएँ । उसलाई अँगालोमा पाउँदा म धेरै खुसी हुन्थेँ र ऊ पनि । हामीबिच धेरैचोटि यौनसम्बन्ध भयो । म ऊसँग बिहे गर्न चाहन्थेँ । तर ऊ महाको धोकेबाज निक्ल्यो ।” लाटीले रमणलाई रुँदै सुनाई ।
“कस्तो धोकेबाज ?”
“मैले उसलाई हामीबिचको सम्बन्ध कसैलाई नसुनाउनू भनेकी थेँ । तर उसले गाउँगाउँ सबैलाई सुनाई हिँड्न थाल्यो । अन्ततः मेरो बालेसम्म थाहा पाउनुभो । बाले मलाई बेस्मारी मर्ने गरी कुट्नुभो ।”
यति भनिसकेपछि लाटी एक्कासि ह्वाँह्वाँ रोई ।
लाटीको रुवाइले रमणको अनुहार एकाएक बादलले छोपेको घामजस्तै अँध्यारो भएर आयो ।
“यो सब कहानी तिमी किन सुनाउँदै छ्यौ मलाई ?”
“तिमी एउटा लेखक हौ । मलाई थाहा छ तिमी सहरमा बसेर उपन्यास र कथाहरू लेख्ने गर्छौ । त्यसैले म चाहन्छु, मैले भोगेका मेरा अलिखित बीभत्स कथाहरू लेखिनुपर्छ, छापिनुपर्छ, पढिनुपर्छ र सारा दुनियाँले थाहा पाउनुपर्छ । त्यसैले, मैले यस कामका लागि तिम्लाई चुनेको हुँ ।”
लाटीले रोदनयुक्त स्वरमा दुई हात जोड्दै आफ्ना सम्पूर्ण बीभत्स कथाहरू रमणलाई आँसुले मुछ्दै सुनाई ।
एकाएक स्क्रिन कालो भयो ।
लाटीको कुरामा दम थियो । पीडा थियो । ताप थियो । सन्ताप थियो । ऊ वेदनाको आगोमा पलपल डढिरहेकी थिई । अँध्यारोमा हुर्किन नपाएको सत्यजस्तै र भुङ्ग्रोभित्रको लुकेको फिलिङ्गोजस्तै उसको कथामा एक महापहेली लुकेको थियो ।
त्यसैले, रमण लाटीको सन्तापमा पग्लियो । ऊ बरफ पग्लेझैँ पानीपानी भयो । उसका आँखाबाट आँसुका रूपमा लाटीका कथाहरू तप्पतप्प बग्न थाले । उसले आफूलाई दरिलो बनाउने कोसिस गर्यो । अन्ततः ऊ लाटीको कथा लेख्ने निक्र्योलमा पुग्यो ।
“यदि यस्तो हो भने म अवश्य तिम्रो कथा लेख्नेछु ।” रमणले यति भन्दै पिठ्युँमा भिरिराखेको झोलाबाट एउटा नोटबुक र पेन निकाल्यो ।
कालो स्क्रिन निमिषमै उज्यालो भएर आयो । स्क्रिनमा लाटी उज्याली देखिई ।
“अनि ?”
रमणले यति प्रश्न गर्दै कथा लेख्नलाई नोटबुक पल्टायो । पेनको कभर फुत्त थुत्यो र लेख्नलाई तयार भयो ।
पूर्वघटना नं. १
“मनमा बदनामीको आगो दन्किनुसम्म दन्क्यो । उज्यालोमा लोभिएर मर्नै गएको पुतलीझैँ म त्यही आगोमा पटकपटक जलेँ र पटकपटक छट्पटिएँ ।
त्यहीबेला गाउँमा बच्चाबच्ची पुगेका महिलाहरूका लागि भनेर निःशुल्क अपरेसन गराउने सरकारी शिविर टोली खटिएको थियो । त्यही शिविर टोलीमा बाले मलाई जबरजस्ती अपरेसन गराई मेरो पाठेघर नै फाल्दिन लाइदिनुभो । मलाई पूर्ण रूपमा ठिक हुनलाई पूरा एक महिना लाग्यो ।”
“तेसपछि त झन् म बलात्कारको सिकार बन्न थालेँ ।” यत्ति भनिसकेपछि लाटी ह्वाँह्वाँ रोई ।
एक्कासि स्क्रिन झ्याप्पै निभी हल अन्धकारमय भयो ।
“अनि ?”
“…”
फेरि एकछिनपछि स्व्रिmनमा लाटी देखिई ।
पूर्वघटना नं. २
“एकदिन सुब्बाको मकैबारीमा म घाँस काटिरहेकी थेँ । पछाडिबाट कसैले मलाई उत्तानो पारी लडाई एक्कासि ममाथि घोडा चढ्यो । बल्ल थाहा पाएँ मैले, आफैले घाँस काट्दै गरेको मकैबारीको छिमेकी साहु सुब्बा रहेछ ऊ ।
मैले सकीनसकी बल्लबल्ल उसलाई लात्तीले हिर्काउन सफल भएँ र ऊबाट फुत्किएर भागेँ तर ऊ मेरो पछिपछि दौडिँदै आयो । म भ्यात्ती लाटी यसै नि काँ कुद्न सक्थेँ र ? उसले उत्तिखेरै मलाई भेटिहाल्यो र मेरो चुल्ठो समाती पछार्यो ।
म पछाडि दुई हात टेकी अगाडि दुई खुट्टा चलाउँदै पछिपछि सर्दै गएँ । उसले मेरो अघिबाट दाहिने खुट्टाको सुरुवाल फुत्त थुत्यो अनि देब्रे खुट्टाको सुरुवाल पनि थुत्यो ।
म भित्री कट्टु कैल्यै लाउँदिन थेँ । सुरुवाल थुतिएपछि म नाङ्गी भएँ । मैले उत्तिखेरै देब्रे हातमाथि दाहिने हात खाप पारी आफ्नो लाज छोप्ने कोसिस गरेँ । त्यसपछि त म पछि सर्नै सकिनँ । आपूm भाग्नुभन्दा पनि आफ्नो लाज बचाउनु मलाई ठुलो कुरा हो जस्तो लाग्यो । उसले आफ्नो कट्टुको इँजार स्वार्र पारी तान्यो र फुत्त तल झार्यो ।
उसको लिङ्ग पैलेदेखि नै उत्तेजित भएर बसेको रहेछ । ममाथि बिजुलीको चालमा घ्याप्पै घोडा चढिहाल्यो । मेरो कुर्ता ध्यार्र पारी च्याती मेरो मुखमा कोचिदियो र दुई हातले जोडले थिचेर हलचल गर्नै नसकिने गरी थिची राख्यो ।
म भुतुक्क भई दुख्नुसम्म दुखेँ । उसले अघाउन्जेल बारम्बार बलात्कार गरिसकेपछि मलाई लास बनाई छोडिदियो ।”
अकस्मात् स्व्रिmन कालो भयो ।
एकछिनपछि दिगम्बर अवस्थामै टुक्रुक्क बसी घुँडालाई दुई हातले कसी घुँक्कघुँक्क गर्दै रुँदै गरेकी लाटीको पिठ्युँपट्टिको बीभत्स दृश्य स्क्रिनमा देखियो ।
रमण निस्तब्ध भयो ।
“रुन छाड्देऊ, जे भोभो । अब मलाई तिम्रो अरू घटनाको बारेमा बताऊ ।” उसले भन्यो ।
“मसँग के नै थ्यो र जो मैले साँच्नुपर्ने । मसँग बचेकै के थ्यो र जो मैले बचाउनुपर्ने । एकाएक मलाई आपैmदेखि घृणा लागेर आयो र आत्महत्या गरी मरूँ जस्तो लाग्यो तर पनि म मर्न सकिनँ ।”
यत्ति भन्दै ऊ विक्षिप्त भई ह्वाँह्वाँ रुनसम्म रोई ।
लाटीको कथाको सन्तापले पग्लिएछ क्यारे रमण । ऊ पनि उसको आँसुसँगै बग्न थाल्यो ।
“तिम्रो कथामा साँच्चै दम छ । तिम्रो कथा सुनेर म स्वयं भावविह्वल भएँ । तिम्रो कथा सकियो कि अभैm बाँकी छ ?” उसले भावुक हुँदै भन्यो ।
“तिम्ले लेख्नुपर्ने वास्तविक कथा अझै बाँकी छ कथाकारज्यू ।”
“कस्तो कथा ?”
“यो यस्तो कथा हो जो तिम्ले सोचेभन्दा फरक कथा छ ।”
“कस्तो फरक कथा ?”
“रक्षक नै भक्षक भएको कथा ।”
“कस्तो भक्षक भएको कथा ? म तिम्रो पहेली सुन्न बसेको होइन । मलाई सिधा कथा सुनाऊ ।”
“अबको कथा तिम्ले मुटु दह्रो पारी सुन्नुपर्ने छ ।”
पूर्वघटना नं. ३
“म चार वर्षकी हुँदा मेरी आमा मर्नुभयो । आमा मरेको नै बिस वर्ष भयो । बाले मलाई पालनपोषण त गर्नुभो । जब म तरुनी भएँ, बाकै गिद्घे नजर ममाथि परिरहेको रहेछ । तर म भने बेखबर थेँ ।
बा सोमबार र बिहिबार हाटमा मासु काट्ने काम गर्नुहुन्थ्यो । त्यसैले बा राति घर आउँदा पूरै मातेर आउनुहुन्थ्यो । राति सुत्ने बेला बाले मलाई “ला लाटी खा यो दबाई । यो दबाई खाइस् भने तेरो छिटै बोली फुट्छ” भनेर खोइ कुन्नि के दबाई दिनुहुन्थ्यो । म होला त भनेर विश्वास मानीमानी खाइदिन्थेँ ।”
लाटीका यी सबै दृश्यहरू एकेक गर्दै स्क्रिनमा देखिए ।
“त्यो दबाई खाइसकेपछि मलाई झपझप निद्रा लागेर आउँथ्यो । म निदाइहाल्थेँ । एकैचोटि म बिहान ब्युँझिन्थेँ । तर ब्युँझेपछि भने मलाई खोइ कस्तोकस्तो असहज अनुभूति भएर आउँथ्यो । मेरो कपडामा पनि माड लागेजस्तो कक्रक्क सेतोसेतो पदार्थ लागेको हुन्थ्यो । तर म भने कहिल्यै वास्तै गर्दिनथेँ ।
पछि गएर मलाई बादेखि बिस्तारै शङ्का लाग्न थाल्यो । एकदिन बा त्यसरी नै हाटबाट घर राति मातेर आउनुभो । मलाई सुत्ने बेला त्यसरी नै “ला लाटी खा यो दबाई । यो दबाई खाइस् भने तेरो छिटै बोली फुट्छ” भन्दै सदाको झैँ हातमा दबाई थमाउनुभो । तर मैले बाको सामुन्ने खाएजस्तो मात्रै गरेर दबाई थाहा नपाउने गरी फाल्दिएँ ।
अहँ, मलाई पहिलेझैँ निद्रा लाग्दै लागेन तर पनि म निदाएजस्तो नाटक गरी सुतिरहेँ ।
मेरो कोठामा डिबिया बलिरहेको थ्यो । करिब यस्तै आधा घण्टापछि बा मेरो बिछ्यौनामाथि चढ्नुभो । मैले आफ्नो आँखा बन्द गरी सुतिरहेकी थेँ । बाले मेरो बिस्तारै सुरुवाल तान्न थाल्नुभो । मैले बिस्तारै चिम्से आँखा पार्दै बालाई हेर्ने कोसिस गरेँ । बाले पूरै नग्नावस्थामा लिङ्ग उत्तेजित पारी मलाई बलात्कार गर्ने कोसिस गरिरहेको थाहा पाएँ ।
म एक्कासि छटपटाएँ । बाले हल्ला भो भने लाजमर्दो हुन्छ भन्ठानेछन् क्यारे, उत्तिखेरै बिजुलीको चालमा मेरो छातीमाथि चढ्दै दुई हातले मेरो घाँटी कसेर दाबेको दाब्यै गर्नुभो । मेरो सासै ठ्याक्कै रोकियो । अन्ततः मेरो मृत्यु भो ।”
स्क्रिनमा लाटीलाई घाँटी दाबी मारिएको बीभत्स दृश्य देखिँदै थियो । अचानक स्क्रिनको लाइट अफ भयो ।
हल एकछिन सुनसान भयो । रमणका आँखा उत्तिखेरै रसिएर आए । उसलाई लाटीका यी दयनीय दृश्यहरूले मनमा आरनमा तातिएर रातो फलामले झैँ नराम्रो गरी डाम्यो ।
“अनि के तिम्रो कथा सकियो ?” उसले भावुक हँदै भन्यो ।
अकस्मात् स्क्रिनमा लाटी ह्वाँह्वाँ रोइरहेको दृश्य देखियो । एकछिनसम्म ऊ रोइरही ।
“छैन ।”
“अनि भन न त ।”
“तेसपछि मैले सबैसँग बदला लिएँ ।” उसले मन दह्रो बनाई भनी ।
“ह्वाट ? तिम्ले मरेर कसरी बदला लियौ ?”
“मान्छे मरेपछि जब आत्मा निस्किन्छ शरीरबाट तब त्यो आत्मा प्रेतात्मा बनी निकै शक्तिशाली बन्दोरहेछ । ऊ उत्तिखेरै दृश्यमा पनि देखिन सक्छ र उत्तिखेरै अदृश्य पनि हुन सक्छ । ऊ उत्तिखेरै मान्छेको रगत, नसा र दिमागभित्र पनि प्रवेश गरी असर पार्न सक्ने क्षमता प्राप्त गर्छ । हो, म पनि प्रेतात्मा बनेँ र त्यसरी नै मैले एक अद्भुत शक्ति प्राप्त गरेँ ।” लाटीले यत्ति भनी ।
“वाहियात ! यस्तो नि कैँ हुन्छ ?”
“के तिम्लाई विश्वास लागेन ?”
“अहँ ।”
“ऐले तिमी काँ छौ ?”
“म पुरानो हवेलीभित्र ।”
“याद गर त तिमी, एउटा बादलको टुक्रा आई तिम्रो छातीवरिपरि घुमी हराउँदा तिम्लाई कुनै अनौठो अनुभूति भा’थ्यो कि थे’न ?”
रमणले एकेक गर्दै पूर्वदृश्य सम्झ्यो र भन्यो, “थ्योथ्यो ।”
“हो, त्यो एक टुक्रा बादल मैँ थेँ । त्यो छायाजस्तो घोडाको प्रेतात्मा पनि मैँ थेँ, बुझ्यौ ?” उसले अथ्र्याउँदै भनी ।
“अँ, बुझेँ बुझेँ । भन तिम्ले कसरी बदला लियौ ?”
“म मेरो तेह्रौँ तिथि सकेपछि पनि मलाई आफ्नो घर छाडी कैँ जान मनै लागेन । मेरो सामुन्ने म आफ्नै बालाई देख्दा औडाहा भई आउँथ्यो र बालाई कसरी मार्ने भनी छटपटिन्थेँ ।
मलाई घाँटी दाबी मार्ने आफ्नै बलात्कारी बा, मलाई विश्वासघात गर्ने आफ्नै प्रेमी लाटा र मलाई बलात्कार गर्ने सुब्बालाई कसरी मार्ने भनेर म जुक्ति सोचिरहन्थेँ ।
अनायासै मभित्रको मनले भन्यो, ‘ऐ लाटी, तँ ऐले मान्छे होइनस्, मान्छे । तँ त मरेकी प्रेतात्मा होस्, प्रेतात्मा । तँसँग अपार शक्ति छ । किन तँ आफ्नो शक्तिको प्रयोग गर्दिनस् ?’
अनि पैले मैले आफ्नै बालाई मार्ने निर्णय गरेँ । बा त्यो दिन पनि हाटबाट रक्सी पिएर आउनुभाथ्यो । बा सुत्न भनी माथि टाँडमा उक्लिनुभो र लुङ्गी खोलेर उत्तानो परी सुत्नुभो ।”
बदला घटना नं. १
“मध्यरातमा बालाई निद्रामा पारी म आफ्नो प्रेतात्मा शक्तिद्वारा उनको शरीरभित्र छिरेँ ।”
एक्कासि स्व्रिmनमा लाटी त लाटीको रूपबाट जेठा नेवारको शरीरमा सेतो धुवाँजस्तो भई प्रवेश गरेको दृश्य देखियो । ऊ एक्कासि जुरुक्क उठ्यो । अनि उसले आङ जिरिङ्ङ गर्यो । उसको बडी ल्याङ्ग्वेजमा तुरुन्तै परिवर्तन भएको देखियो । उसले दुवै आँखा ठुल्ठुला बनाई पिर्लिक्क पारी हेर्यो ।
“मैले बाको शरीरमा खुब कामोत्तेजना ल्याइदिएँ ।”
उसको शिश्न हनुमानकट्टुभित्रबाटै ठाडो ४५ डिग्रीको कोणमा तेर्सिएको देखियो स्क्रिनमा ।
“अनि बाको मनभित्र कट्टु खोल्ने इच्छा जगाउँदै मेरो अर्को नाङ्गो रूप बाको अघि ठिङ्ग उभिएको देखाइदिएँ र उनको शरीरबाट बाहिर निस्केँ ।”
अकस्मात् स्क्रिनमा जेठा नेवारले हनुमानकट्टु खोल्दै गरेको दृश्य देखियो । ऊ पूर्ण रूपमा दिगम्बर भयो । उसको अघि लाटी दिगम्बर अवस्थामै ठिङ्ग उभिइरहेकी थिई । ऊ लाटीनजिक शनैः अघि बढ्दै गयो । नजिक पुगेपछि उसले लाटीलाई गम्लङ्ङ अँगाल्यो ।
हेर्दादेर्दै लाटीको अनुहार बदलिँदै गयो र ऊ एक डरलाग्दो प्रेतको रूपमा प्रस्तुत भयो । उसका लामालामा फिँजिएका कपाल भुइँसम्मै लत्रिएका थिए । हात र खुट्टाका नङहरू बिरालोका नङ्ग्राजस्ता लामालामा भएर आए । फेरि अकस्मात् उसको अँगालोबाट निमिषमै हरायो प्रेत ।
जेठा नेवार अतिशय आत्तियो र उसको सातोपुत्लो उड्यो ।
फेरि अचानक उसको पछाडि देखिई स्क्रिनमा त्यही प्रेत । उसले जोडजोडले हाँस्दै भनी, “आऊ बा, मलाई बलात्कार गर, बलात्कार । म तिम्रै छोरी लाटी हुँ, लाटी ।”
जेठा नेवारले पछि फर्की हेर्यो । निमिषमै उसको रक्सीको नसा दिमागबाट उत्रियो ।
ऊ भाग्न खोज्यो तर मिलिक्क बिजुली चम्केझैँ ऊ भाग्ने दिशातिर फेरि त्यही प्रेत ठिङ्ग उभियो ।
फेरि ऊ अर्को दिशामा भाग्न खोज्यो । फेरि त्यसै गरी प्रेत मिलिक्क भाग्ने दिशामा ठिङ्ग उभियो ।
ऊ कतै पनि भाग्न सकेन ।
ऊ थचक्कै टाँडको भुइँमा बस्यो र दुई हात जोड्दै माफी माग्दै भन्यो, “लाटी मलाई माफ गर्दे । छोरी मलाई माफ गर्दे, म अपराधी हुँ ।”
लाटी सैतानी शैलीमा जोडजोडले हाँसी र उसले भनी, “हा…हा…, म तेरी लाटी हुइनँ । म तेरी छोरी हुइनँ । म त लाटीकी मरेकी प्रेतात्मा हुँ, केवल प्रेतात्मा ।”
प्रेतले रिसाउँदै यत्ति भनी र मिलिक्क स्क्रिनबाट हराई ।
फेरि सेतो धुवाँजस्तो उसको शरीरमा एक टुक्रा धुवाँ प्रवेश गरेको स्क्रिनमा देखियो ।
उसले फेरि आङ जिरिङ्ङ गर्यो । उसले अघिझैँ दुवै आँखा सेतोसेतो पारी पिर्लिक्क पल्टायो ।
ऊ बसिरहेको ठाउँबाट जुरुक्क उठ्यो र सिरानीतिर बढ्यो । उसले सिरानी पल्टायो । सिरानीतल एउटा धारिलो छुरी देखियो । उसले दायाँ हातले त्यही छुरी च्याप्प समायो र बिछ्यौनामाथि चढ्यो ।
माछा तार्नुअघि माछालाई चिराचिरा पारेजस्तै गरी छुरीले उसले आफ्नै राइफल ठाउँ ठाउँमा चिराचिरा पार्यो । अन्ततः उसले आफ्नै राइफल च्वाट्टै पारी जरै भिराई काट्यो । काटिएको राइफलको टुक्रा बिछ्यौनामा तल फ्यात्त झर्यो । अकस्मात् राइफल काटिएको ठाउँबाट ह्वालह्वाल रगत बग्न थाल्यो। ऊ अतिशय तड्पियो र छट्पटायो ।
फेरि अकस्मात् आफ्नै दुई हातले घाँटी दाब्दै ऊ माथितिर हावामा लट्किँदै गरेको स्क्रिनमा देखियो । ऊ पासो लागेजस्तै गरी छट्पटायो र अकस्मात् हावामा झुन्डियो । मानौँ, उसलाई कसैले पासो लगाई मारेको हुँदो हो ।
एकछिनसम्म उसको टाउको लत्रक्क परी हावामा चचहुई …चचहुई खेलिरहेको स्व्रिmनमा देखियो ।
निमिषमै स्क्रिन ब्ल्याकआउट भयो ।
हलमा अकस्मात् घामको उज्यालो पोखियो ।
रमणले पूर्व फर्की हेर्यो । उसले देख्यो एउटा रातोपहेँलो नाङ्लोजत्रै घाम आकासिँदै थियो ।
“अहो ! उज्यालो नि भैसकेछ । अनि, तिम्रो कथा सकियो त ? लाटी, ए लाटी । तिम्रा कथाहरू सकिए कि बाँकी छन् ?” उसले लाटीलाई फेरि थप प्रश्न गर्यो ।
“…”
तर लाटी स्क्रिनमा आइन ।
“तिम्ले कथा नसुनाउने हो भने मलाई जाँबाट ल्याथ्यौ त्यैँ लगेर छोड्देऊ । लाटी, ए लाटी, सुन्दै छ्यौ तिमी ?” उसले पुनः लाटीलाई स्क्रिनमा ल्याउने कोसिस गर्दै भन्यो ।
लाटी निमिषमै स्क्रिनमा फेरि देखिई तर ऊ ह्वाँह्वाँ अविरल रोइरहेकी थिई ।
“तिम्रा कथा सकिए कि बाँकी छन् ?” उसले फेरि प्रश्न गर्यो ।
“कथा त अझै बाँकी छन् । तर भो अब मलाई सुनाउनु छैन ।” उसले आँसु पुछ्दै यत्ति भनी ।
“अनि, बाँकी बलात्कारीहरूलाई कसरी मार्यौ नि ?” उसले अझै थप प्रश्न गर्यो ।
“म जसरी बाको शरीरमा पसेँ र बा स्वयंले आफ्नै लिङ्ग काटीकाटी मरे, हो, त्यसै गरी मैले सबैलाई मारेँ ।”
“अनि, त्यसपछि ?”
“लाटालाई ।”
“उसलाई किन मार्यौ ?”
“किनकि, लाटा मेरो पहिलो मायालु थ्यो । तर उसले पनि मसँग विश्वातघात गर्यो र मसँग सुती हिँडेको खबर गाउँगाउँ सुनाई हिँड्यो ।”
एकछिन रोकिँदै छाती फुलाउँदै लाटीले लामो सास तानी र फेरि त्यसै गरी हावामा लामो सास छोडी र भनी, “हेर रमण, आमा मरेको घरमा एक युवती छोरी कैल्यै सुरक्षित रहन्न । यदि रही भने नि बाका कामुक नजरले बारम्बार बलात्कार गरिरहेका हुनेछन् ।
बाले आफ्ना कामुक आँखाद्वारा छोरीको स्तनमा बलात्कार गर्नेछन् । छोरीका नाइटोमा, कम्मर, नितम्ब र तिघ्रामा बारम्बार बलात्कार गर्नेछन् । आँखाविना पनि मनका हातले छोरीका सारा शरीरभरि सलबलाई बारम्बार बलात्कार गरिरहनेछन् ।
ती बा के बा, जसले आफ्नै छोरीलाई बलात्कार गर्छन् ? त्यो समाज के समाज, जुन समाजमा सुब्बाहरूजस्ता हिंसक बलात्कारीहरू मान्छेका रूपमा ब्वाँसाझैँ लुकेर बस्छन् ?
हेर रमण, म यत्ति भन्छु, यो संसारमा कुनै आमाका गर्भमा कुनै छोरीका भ्रूणहरू आइन्दा बस्दै नबसोस् र संसार छोरैछोराले भरियोस् । अनि हेर्नु छ मलाई, संसारमा चारैतिर घुमीघुमी जहाँ पुरुषले नै पुरुषहरूमाथि बीभत्स बलात्कार गरिरहेका दृश्य ।
बस, यत्ति हेर्नु छ मलाई रमण । के तिमी साँच्चै ! मेरा यी ‘अलिखित कथाहरू’ लेखिदिन्छौ ?”
***
“बुडा, ए बुडा । होइन, उठ्ने बेला भएन ? घाम त टाउकैमा उभिइसक्यो त ?” रमाले चर्को स्वरमा झकझक्याउँदै उठाइन् रमणलाई ।
“हँ” गर्दै रमण निमिषमै सपनाबाट तर्सिंदै उठ्यो र उसले बिछ्यौना छाम्यो । उसले आपूmलाई ठिमीको आफ्नै घरको बिछ्यौनामा पायो । ऊ डरले असिनपसिन भयो ।
तुरुन्तै उसले केही सोच्नै सकेन । उसलाई यति थाहा भयो कि ऊ आफू गहिरो एउटा डरलाग्दो सपनाबाट ब्युँझिँदै थियो । ऊ केही सम्झिन खोजेजस्तै गरी एकछिन टोलाइरह्यो ।
“हैन, के टोलाइरा’ ? उठ्नुस् न छिटो र फ्रेस हुनुस् । कफी राखिदे’की छु टेबुलमा ।” यत्ति भनी रमा कोठाबाट बाहिरिई ।
रमणले सपनामा देखिएका एकेक घटनाहरू सम्झ्यो । उसले कथा सार्दै गरेको नोटबुक सम्झ्यो । उसले झट्टै पेन सम्झ्यो । अनि फेरि उसले झोला सम्झ्यो । यतैकतै छ कि भनेर छामछामछुुमछुम पनि गर्यो । तर उसले केही भेटेन । अझै पनि बिपना हो कि सपना छुट्याउन उसलाई अतिशय कठिन भएर आयो र
उसले फेरि स्क्रिनकी लाटी सम्झ्यो । उसले जेठा नेवारको राइफल चिराचिरा पारी काटिएको दृश्य सम्झ्यो ।
उसले फेरि एक वर्षअघिका जेठा नेवार, लाटा र सुब्बाका गाउँमा घटेका आफ्नै कानले सुनेका मृत्युका सबै पहेलीपूर्ण घटनाहरू एकेक गर्दै सम्झ्यो ।
अन्त्यमा, उसले आफू र लाटीका बिच दुवै जनाका सहमतिमा भएको यौनसम्बन्ध पनि सम्झ्यो ।
यति सम्झिसकेपछि ऊ एक्कासि ह्वाँह्वाँ पश्चात्तापको रुवाइ रुनसम्म रोयो । निमिषमै उसलाई आङ जिरिङ्ङ भइआयो र ऊ लगलग काँप्यो । अन्ततः उसलाई नराम्ररी जरो आयो ।
“रमा, ए रमा । लौ न ! मलाई त हनहनी जरो पो आयो त । मर्छु पो क्या हौ म त ?” यति भन्दै लुगलुग काम्दै फाइबरसिरक तान्दै पुषमाघमा कुकुर गुडिल्किएर सुतेझैँ ऊ सुत्यो ।
रमा आत्तिँदै आई र उसको छेउमा बसी । एकछिन जिउहातमा पानीपट्टी गरिदिई ।
जरो अलि ओर्लेको जस्तो भयो र ऊ निमिषमै निदायो ।
***
आकाशबाट एउटा चिल उड्दैउड्दै आयो र झ्यालबाट रमणको कोठाभित्र स्वाट्ट छिर्यो अनि खुट्टानिर पलङछेउ गई भुइँमा बस्यो ।
त्यो चिल हेर्दाहेर्दै सेतो वस्त्र पहिरेकी त्यही लाटी बनी र उसले ओढिरहेको सिरक शनैः तान्दै भनी, “रमण, ए मेरो रमण !”
ऊ अकस्मात् आत्तिएर “हैट् ! हैट् !” भन्दै ब्युँझियो ।
रमा पनि ऊ चिच्याएको सुनेर दौडिँदै आई । उसको छेउमा बसी र अँगाली रमणलाई ।
त्यहाँ कुनै लाटी थिइन न त त्यहाँ कुनै चिल नै थियो । रमाको तातो साथ पाएपछि रमण फेरि निदायो।
“रमण, तिमी नडराऊ । त्यो सम्भोग त तिमी र मेरोबिचको सहमतिको सम्भोग थियो ।” उसलाई कानैनजिक आएर सासेस्वरमा कसैले फुस्फुसाएजस्तो लाग्यो ।
उसले अनायासै आँखा पिर्लिक्क खोल्यो । उसले दायाँबायाँ हेर्यो तर केही देखेन । केवल आफूलाई अँगालिरहेकी आफ्नै पत्नी रमालाई देख्यो । ऊ ढुक्क भयो र फेरि निदायो ।
***
रमणले लाटीको सत्य घटनामा आधारित कहीँकतै नलेखिएको “अलिखित कथा” लेखेर आफ्नो “फिर्दोसको साँचो” शीर्षकको कथासङ्ग्रहमा छाप्यो । यो कथासङ्ग्रह देशव्यापी रूपमा नै चर्चामा आयो।
***
“फिर्दोसको साँचो” कथासङ्ग्रह छापिएको एक वर्ष कटिसकेको थियो । घरगाउँ र सहर त के पूरै देश नै शान्तिका सिरानीमा निदाएका थिए । कहीँकतैबाट पनि बलात्कारका कुनै घटनाहरूका समाचारहरू सुनिँदैनथे । पूरै देशमा सम्पूर्ण महिलाहरू आफूलाई सुरक्षित रहेको महसुस गरिरहेका थिए ।
एकदिन थिङ टोलमा रामसिस तेलीका छोरा रामबिलास एकाएक हराएको नराम्रो खबर सुनियो ।
सबै जना मिली उसलाई धुइँपत्ताल खोज्ने कार्य गरे । गाउँघर सबैतिर खोजिसक्दा पनि अहँ उसलाई कहीँकतै पनि पत्ता लगाउन सकेनन् । खोज्दाखोज्दै सात दिन बितिसकेका थिए ।
फार्लेन जङ्गलछेउमा रहेको बानटोलमा आएर एभरेस्ट सुगरमिल बसेपछि महोत्तरी जिल्लामा व्यापक रूपमा उखुखेती गर्न थालिएको थियो । जताततै उखुका नै खेतैखेत देखिन्थे । रामनगर घोडवाल ठाइँलाको सय बिघा खेतदेखि लिएर पश्चिम थिङटोल गरी दुई सय बिघा उखु खेतैखेत आँखाले नभ्याउने गरी आकाश फैलिएझैँ फैलिएको थियो ।
सात दिनपछि रामसिसको घरदेखि पूर्वमा रहेको एक बिघा आफ्नै उखुखेतबाट सिनो गन्हाएको हरकले उसलाई अतिशय बेचैनी गरायो । ऊ दुविधामा पर्यो ।
उसको मनमा अकस्मात् छोरो हराएको शङ्का भुलुक्क उम्लियो र मनमनै भन्यो, “कतै यो सिनोको हरक मेरै छोरो रामबिलासको त होइन ?”
यही सिनोको हरकले उसलाई पूर्वतिर तान्दै लग्यो र ऊ तानिँदै गयो । जतिजति नजिक पुग्न थाल्यो उतिउति नाकमा सिनोको हरकले उसलाई खपी नसक्नुको अवस्थामा पार्यो । उसले घाँटीमा बेरेको गम्छाले नाक थुन्यो र सिनोको हरक पछ्याउँदै उखुखेतभित्र छिर्यो । महिलाले कपालको सिउँदो फारेजस्तै उसले दुई हातले उखुलाई फार्दैफार्दै सिनोनिर पुग्ने कोसिस गर्यो ।
जब उसले देख्यो त्यो सिनोलाई तब उसको होसहवास नै उड्यो । त्यो सिनो कुनै जनाबरको सिनो थिएन । त्यो सिनो कुनै कुकुर र बिरालोको सिनो थिएन । थियो त त्यो केवल सात दिनअघि हराएको उसैको आफ्नै छोरो रामबिलासको सडेको लासको थियो । लास कुहिएर औँसैऔँसा परेको थियो ।
उसले लासवरिपरि हेर्दै चारैतिर आँखा दौडायो । एकदुई धुरजति जमिनमा उखु सोत्तर परेर लडेका थिए । त्यहाँ देख्यो उसले, छसात पाँजाको एक अँगालो पहेँलिएको घाँसको एउटा थुप्रो थियो । अर्को छेउतिर एक पाँजा छरिएको घाँस ओइलिएर पनि सुकेर पराल भइसकेको थियो । अलि परतिर नाम्लो र डोको छरिएको देखियो । डोकोछेउमै थियो शीतले गर्दा खिया लागेर पहेँलिएको एउटा आँसी ।
फेरि उसले लासको शिरदेखि उँधो निकै गहिरो दृष्टि गाड्यो । तब देख्यो उसले नाइटोदेखि उँधोका दुईवटा अण्डकोष बाँकी राखी जरै भिराएर काटिएको थियो लासकोे राइफल । उसका आँखाले एकाएक राइफलको खोजी ग¥यो । अलि परतिर औँसैऔँसा परेको काटिएको राइफललाई आहारका लागि कमिलाहरूले लग्दै गरेको बीभत्स दृश्य देखियो ।
उसलाई अकस्मात् भाउन्न भएर आयो । ऊ निस्तब्ध भयो र ठाउँको ठाउँमै थुचुक्कै बस्यो । उसको मगजमा अहँ केही फुर्दै फुरेन । ऊ निर्बोधभैmँ माखेसाङ्लो अवस्थामा पुग्यो । रामबिलासलाई कसले मा¥यो र किन मार्यो ? उसका लागि यो सबै पहेलीकै विषय बन्यो । अझै पनि उसका शङ्काका बाहुलीले कसैलाई पनि समाउन सकेनन् ।
उसले फेरि एकपल्ट लासमा तिखो नजर गाड्यो र कमिलाले लग्दै गरेको औँसैऔँसा परेको राइफललाई हेर्यो । थुचुक्कै भुइँमा बस्यो र लामो सुस्केरा हाल्यो ।
ऊ फेरि पनि निर्बोध अवस्थामा पुग्यो । रामबिलासको मृत्युको घटना एक महापहेलीको पहेली नै रह्यो ।
कथा – “अगमपुथी”
कथा – “अगमपुथी”
राजबाबु श्रेष्ठ सागर
नीलो, विशाल अन्तरिक्षको भुजाझैं चारैतिर फैलिएको स्वर्गको सुनैसुनले बनेको चमकदार दरबारको बीच एक विशाल सुनको कुर्सीमा बडेमानका यमराज विराजमान थिए । उनको पहिरन गाढा रातो थियो । टाउकामा सुनको मुकुट थियो र शरीर बाजुबन्द, हार र कर्णफूल आदिजस्ता सुनका गहनाले चारैतिर ढाकिएको थियो । बायाँ हातमा पाशको कुन्डली झुण्डिएको थियो र दायाँ हातमा सुनको गदा समाइएको थियो ।
यमराज बस्ने कुर्सीकै छेउमा गाडिएको चाँदीको मजबुत किल्लामा चाँदीकै सिक्रीले चाँदीकै मौलामा बाँधिएको उनको चम्किलो कालो सवारी भैंसीले घाँस होइन, ताजा फलफूल खाइरहेको थियो ।
उनकै दायाँ छेउमा लेखापाल चित्रगुप्त पहेंलो रङको धोती र उज्यालो सेतो कमिजको पहिरनमा सुसज्जित भएर उभिएका थिए । दायाँ हातमा कलम र दवात, बायाँ हातमा “अगमपुथी” (कर्मपुस्तक) समाइएका थिए । शरीरमा जनेऊ, हार र बाजुबन्द स्पष्टै देखिन्थिे । उनको अनुहार नितान्त शान्त र सफा थियो, मानौं कुनै विद्वान ब्राम्हणको जस्तो । यमराजको बायाँ छेउमा उभिएर यमकिङ्करले पङ्खा हम्किरहेका थिए ।
“हे चित्रगुप्त, यस ज्ञानबहादुरको भागमा के लेखिएको छ, स्वर्ग कि नर्क ?” यमदूतले ज्ञानबहादुरलाई चित्रगुप्तको छेउ घिसार्दै ल्याई भने ।
यमदूतको घुँघराले कालो लामो कपाल, भयानक कालो स्वरूप, दायाँ हातमा चम्किलो सुनको गदा, शिरमा सिङझैं उठेको सुनको मुकुट र कम्मरमा बेरेको कालो वस्त्र देख्नेबित्तिकै जोकोहीको होसै उड्थ्यो ।
ज्ञानबहादुर दुई हात जोड्दै डरले थरथर काँपिरहेका थिए । उनी घरी यमराजतिर त घरी चित्रगुप्त र यमदूततिर दयाका आँखा यसरी बिछ्याउँथे । मानौं उनको दयाको पोल्टामा नर्क होइन, स्वर्ग नै अवश्य दान गरिनेछ ।
“हे चित्रगुप्त, “अगमपुथी” हेरेर भन, यसको भागमा के परेको रहेछ ?” यमराजले भने ।
“हस् यमराज ।” चित्रगुप्तले “अगमपुथी”का पानाहरू एकध्यानले फरर एकेक गर्दै पल्टाउन थाले।
“अगमपुथी”का पानाहरू फरर एकेक गरी पल्टिँदै थिए । अचानक ! चित्रगुप्त अगमपुथीको एउटा पानामा गएर टक्क रोकिए । पानी पर्न लागेको कालो बादलले घामलाई छोप्दा दिन झ्याप्प अँध्यारो भएझैं एकाएक उनको अनुहार अँध्यारो भएर आयो ।
“अहो ! यमराज, यसको भागमा त पापैपापको शिखर अग्लिएको देख्छु । यो त अपराधी मात्रै होइन, महाअपराधी रहेछ यमराज । यसले आफैलाई जन्म दिने आमामाथि घोर अपराध गरेको देखिन्छ । यसलाई भोजनको रूपमा ग्रहण गर्न नर्कका आगोहरू वषौंदेखि भोकाइरहेका देख्छु। यस महापापीलाई सातौँ नर्क (हवियाह)को सजायको आदेश हुकुम बक्सियोस् यमराज ।” चित्रगुप्तले “अगमपुथी” बन्द गर्दै भने ।
यत्तिकैमा नर्कका भोकाइएका आगोका अग्लाअग्ला लावा समुद्रको छालझैं उम्लिँदै ज्ञानबहादुरलाई निल्न उत्साहित देखिन्थे । यो दृश्य देखेर ज्ञानबहादुरको झन् होसै उड्यो र उनी एकाएक अचेत भए ।
“हे यमदूत, यसलाई पानी छम्की होसमा ल्याऊ ।” यमराजले आदेश गरे ।
“हस् यमराज ।” यमदूतले एक बाल्टिन बरफयुक्त पानी उनको शरीरमा खन्याइदिए ।
ज्ञानबहादुर होसमा आए । उनी जुरुक्क उठे र एकाएक यमराजको खुट्टामा गई घोप्टिँदै दुई हात जोड्दै भने, “यमराज, मलाई दया गर्नुहोस्, कृपया दया गर्नुहोस् । म घामको कडा तेज सहन नसक्ने म एउटा कमजोर मनुष्य हुँ । हे यमराज, म यी आगोका लावा कसरी सहन सक्छु र ?”
यमराज जोड्जोड्ले हाँसे । यमराजसँगसँगै चित्रगुप्त र यमदूत पनि हाँस्न थाले ।
यमराजले भने, “के तँ आफ्नी जन्म दिने आमालाई भेट्न चाँहन्छस् ?”
“…”
उनी एकाएक निःशब्द भए ।
यमराजको मुखबाट आमा शब्द सुनेपछि ज्ञानबहादुरको अनुहार एकाएक अँध्यारो भएर आयो। उनको शिर रुखको भाँचिएको डालीझैं पश्चतापले भाँचिँदै उधोमुन्टे भयो । आफूले आमाप्रति गरेको अपराध सम्झी उनी भित्रभित्रै पश्चतापको आगोले अतिशय छट्पटिनुसम्म छट्पटिए ।
“हे चित्रगुप्त, आमालाई दुःख दिने सन्तानका बारेमा “अगमपुथी”मा केके लेखिएका रहेछन् ? हेर त ।” यमराजले भने ।
चित्रगुप्तले “अगमपुथी”का पानाहरू एकेक गर्दै पल्टाउन थाले। “अगमपुथी”का पानाहरू एक, दुई र तीन गर्दै सरर पल्टिँदै गए ।
पुस्तकको बीच भागमा गएर टक्क रोकिँदै चित्रगुप्तले भने, “यमराज, आमालाई दुःख दिने सन्तानलाई नर्कमा भोकाएका आगोका आहार बनाइनेछ । तिर्खाउँदा पानीको सट्टा गन्हाउने पीप र रजस्वला पिलाइनेछ । भोजनमा ओलिन्डर काँडा कोचारिनेछ ।
यसरी चित्रगुप्तले “अगमपुथी” पढिरहँदा, यमराजले सहमति जनाउँदै शिर हल्लाइरहेका देखिन्थे । तर ज्ञानबहादुरले भने नर्कको भयानक सजाय सुनेर डर र त्रासले काँपिरहेका थिए।
चित्रगुप्तले थप पानाहरू पढ्दै गए ।
काँडे फलामको बिस्तर ओछयाइनेछ र ओढ्नलाई आगोको सिरक दिइनेछ । पटकपटक त्वचा काढिनेछ र पुनः त्वचा थपिनेछ । फेरि तेसै गरी त्वचा काढिनेछ र थपिनेछ । दिनुहुँ नाङ्गो शरीरमा एघार सय पैँसठ्ठी काँडेतारको कोर्रा हानिनेछ र काढिएको त्वचामा भकभक खौलिएको तेल खन्याइनेछ यमराज ।”
चित्रगुप्तले यति भनिसक्दा उनी स्वयम् पनि हाँपिरहेका थिए । उनले एकपटक गहिरो लामो सास ताने । शीतलताको लागि उनले दायाँ हात छातीमा राख्दै दुई घुट्को पानी घुटुक्क निले । मानौं नर्कको त्यो भयानक सजाय सम्झी चित्रगुप्त स्वयम्लाई पनि असहनीय भएको हुँदो हो ।
चित्रगुप्तले नर्कका सजाए बारेमा पढेका अगमपुथीका प्रत्येक वाक्य ज्ञानबहादुरले आफ्नो मनमा उमारे र नर्कका भयानक सजायलाई आफैले भोगेको दृश्यवत् अनुभव गर्न थाले ।
ज्ञानबहादुर सातौँ हवियाह नर्कको खौलिरहेको आगोमा मुर्दाझैं जिउँदै जलिरहेको बीभत्स दृश्य देखियो जुन नर्क कालो धुवैंधुवाँले भरिएको थियो ।
उनी खुब छट्पटाए । रोए । कराए । चिच्याउनुसम्म चिच्याए । यताउता भाग्ने कोसिस पनि गरे । तर समुद्रझैं फैलिएको नर्कको आगोको सागरबाट उनलाई भाग्न कत्ति पनि सम्भव थिएन। भोकाएका ती आगोहरूले उनलाई स्वादिष्ट आहार ठानी पेट भरिरहेका थिए । उनको शरीरको मासुको पानी वस्त्र सुकेझैं सुक्दै गयो । शरीर जल्दै गएपछि उनलाई ज्यादै तिर्खा लाग्यो ।
“पानी । पानी । मलाई तिर्खा लाग्यो । मलाई प्यास लाग्यो । कृपया मलाई पानी देऊ । मलाई भोक लाग्यो । कृपया मलाई खाना देऊ ।” दुई हात जोड्दै उनले अनायासै चिच्याउँदै भने ।
एउटा यमदूतले एक बाल्टिन पीप ल्याएर उनको मुखमा खन्याइदिए । उनले त्यो रगतमिश्रित गन्हाउने पीप पिउन सकेनन् । उनले उत्तिखेरै उल्टी गरे ।
फेरि दोस्रो यमदूतले एक बाल्टिन गन्हाउने रजस्वलाको पानी उनको मुखमा खन्याइदिए । फेरि पनि उनले पिउन सकेनन् उल्टी गरे ।
फेरि तेस्रो यमदूतले एक बाल्टिन आगो “यही हो तेरो भोजन, ला खा” भन्दै मुखमा खन्याइदिए।
“आत्थाथाथा ! पोल्यो मलाई, पोल्यो ।” उनी ज्यादै छटपटाए ।
फेरि चौथो यमदूतले ओलिन्डर काँडा ल्याई मुखमा कोचारिदिए ।
“घोच्यो मलाई, घोच्यो । म यो विषालु काँडा खान सक्दिनँ ।” उनले फेरि पनि त्यस्तै गरी छट्पटाउँदै बिन्ति बिसाए ।
चित्रगुप्तबाट यति सुनिसकेपछि उनी एकाएक तड्पिँदै ह्वाँ‘ह्वाँ रोए । उनी ज्यादै छट्पटाए । पानीमा सिनो लुछ्ने गोहीझैं तडपले याचनाको भीख माग्दै यताउता ओल्टोपल्टी खाए । तर यमराजको ढुङ्गाझैं कठोर मुटुलाई उनको याचनाको आगोले पगाल्न सकेन ।
“हे चित्रगुप्त, “अगमपुथी”मा कहींकतै यसको कुनै निवारण लेखिएको छ कि ?”
“छ यमराज । आमालाई दुःख दिने यस्ता पापी सन्तानहरूका निधारमा नर्कको बास हुनेछ भनी लेखिएको छ । तर, आमाले क्षमा दिन चाहेमा पाप क्षमा हुनेछ भनी पनि लेखिएको छ यमराज ।” चित्रगुप्तले “अगमपुथी” बन्द गर्दै भने ।
“ऐ, तेरो आमाको नाउँ के हो ?” यमदूतले ज्ञानबहादुरलाई लात्तले भ्वाक्क हिर्काउँदै भने ।
“मायाबत्ती ।” उनले दुई हात जोड्दै भने ।
“हे चित्रगुप्त, “अगमपुथी”मा लेखिएको अनुसार मलाई भन, मायाबत्तीका कर्मफल के कस्ता छन् ?”
चित्रगुप्तले “अगमपुथी”का पानाहरू एकेक गरी पल्टाउन थाले। पानाहरू एकपछि अर्को गर्दै पल्टिँदै जान्थे । चित्रगुप्तले जस्तोजस्तो “अगमपुथी”का वाक्य पढ्दैजान्थे उस्तोउस्तो उनको अनुहार सूर्यको तेजले धरती उज्यालो भएझैं उज्यालो हुँदै जान्थ्यो ।
“अगमपुथी”को बीच भागमा पुगेर एकाएक रोकिँदै चित्रगुप्तले भने, “हे यमराज, मायाबत्तीको मृत्यु भएको २५ वर्ष भइसकेको रहेछ र उनी यहीं स्वर्गमा आराम गरिरहेकी देखियो ।”
“हे यमदूत, देखाऊ यसलाई स्वर्गको दृश्य ।” यमराजले भने ।
यमदूतले स्वर्ग र नर्कबीचको सुनको पातलो पर्दा खोलिदए । पर्दा खोल्नेबित्तिकै स्वर्गको अद्भुत शानदार नजरा देखियो । मात्र एकफिटको फरकमा खिचडीझैं फत्फत् फत्किरहेको आगोको लावामय कहालिलाग्दो भयानक नर्क धुवैंधुवाँले भरिएको त्यो डरलाग्दो दृश्य पनि देखियो ।
सुनैसुनले बनेका दरबारमा स्वर्गबासीहरू एकसाथ हर्षलासको उत्सव मनाइरहेका थिए । त्यहाँ कोही पनि बालबालिका, तरुण–तरुणी वा बूढा–बूढी देखिँदैनथे । त्यहाँ केवल सबै एउटै उमेरका कलकलाउँदा जवान देखिन्थे । सबैका अनुहारमा हीराझैं चम्किला खुसी फुलिरहेका प्रतीत हुन्थ्यो । त्यहाँ कसैको अनुहारमा न थकान थियो, न दुःख–कष्ट, न पीर र चिन्ताले नै जरा गाडेको देखिन्थ्यो ।
देखिन्थ्यो त केवल जताततै हर्षलासको उत्सव । सुनिन्थ्यो त केवल जताततै गुञ्जायमानको एउटै ध्वनि “आहा स्वर्ग ! आहा स्वर्ग ! आहा स्वर्ग ! आहा स्वर्ग !”
दरबारकै छेउहुँदै सेतो र सफा दूधको नदी कलकलाउँदै सङ्गीतमय भई बगिरहेको थियो । तेस्तै गरी अर्कोछेउ स्वादिष्ट मदिराको सङ्लो सुगन्धित नदी पनि बगिरहेको थियो । केही अप्सराहरू यताउता घुमफिर गर्दै नाचिरहेका देखिन्थे । केही अप्सराहरू सुनका ट्रेमा उक्त मदिरा लिएर पुरुषहरूका समुहसमुहमा गई आदर पूर्वक मदिरापान गराइरहेका थिए ।
मदिरापान गरिरहेका ती पुरुषहरू न मातेका देखिन्थे न त एकर्कामा झैं-झगडा र कलह नै गरेका देखिन्थे । यस्तो लाग्थ्यो, त्यो मदिरा, मदिरा नभएर सोमरस अथवा देवताहरूले पिउने एक पवित्र अमृतरस हुँदो हो । मानौं मदिरापान गर्ने ती सबै पुरुषहरू तेसै स्वर्गमा बास गर्ने देवताहरू नै हुँदा हुन् ।
न त्यहाँ व्यापार हुन्थ्यो न त खेतिपाती नै । त्यहाँ न कसैलाई भोक लाग्थ्यो, न त तिर्खा नै । न त त्यहाँ कहींकतै मृत्युलोकजस्तो दिसापिसाब गर्ने शौचालय नै देखिन्थ्यो । देखिन्थ्यो त त्यहाँ जताततै सुगन्धित कहिले नओइलाउने केवल फूलहरूको बाग । देखिन्थ्यो त जताततै केवल कहिल्यै नसड्ने, गल्ने फलफूलहरूको सुन्दर उद्यान । त्यहाँ उनीहरूले जति नै खाएपिए पनि उनीहरूलाई न दिसा लाग्थ्यो न त पिसाब नै ।
आहा ! स्वर्ग भनेपछि स्वर्ग नै हो । यस्तो भव्य र शानदार स्वर्गको परिकल्पनाको चाहा कसलाई नहुने होला र । जिउँदैमा यस्तो भव्य स्वर्ग देखिने भए, शायद कसैले पनि जानेर पाप गर्ने दुस्साहस कदापि गर्दैनथ्यो होला ।
“ऐ, स्वर्गमा तैंले आमालाई कहींकतै देखिस् ?” यमराजले ज्ञानबहादुरतिर फर्किंदै भने ।
उनले निधारमा हातको पाली बनाई स्वर्गको भव्य दरबारभित्र आमालाई यताउता हेर्दै खोज्न थाले ।
मायाबत्तीको पाउ तल स्वर्ग अवस्थित रहेको र एक सय पाँचजना अप्सराले मायाबत्तीको सेवा गरिहेको र शिरकै छेउमा एउटा यमदूतले पहरा दिइरहेको दृश्य अचानक उनको आँखामा ठोकियो । उनको अनुहार एकाएक सूर्यझैं तेजिलो भएर आयो ।
“उ तिनै हुन् मेरी आमा जसको पाउ तल स्वर्ग रहेको छ र उनलाई एक सय पाँचजना अप्सराले सेवा र एउटा यमदूतले पहरादारी दिइरहेका छन् ।” ज्ञानबहादुरले आमातिर इसारा गर्दै भने ।
“हे यमदूत, मायाबत्तीलाई यहाँ तुरुन्तै हाजिर गराऊ ।” यमराजले आदेश गरे ।
यमदूतले उतिखेरै मायाबत्तीलाई यमराजको अघिल्तिर पेश गरिदिए ।
आफ्नो सामुन्ने आफूलाई दुःख दिने आफ्नै छोरोलाई देख्दा उनी एकछिन त जिल्लाराम नै परिन् । छोरोलाई देखेर उनी रिसले रातोपिरो भइन् । उतिखेरै उनको शरीर ज्वरो आएझैं रनक्क रन्किएर आयो । रिसले उनी एकातिर फनक्क फर्की ।
ज्ञानबहादुर दुई हात जोड्दै “आमा, मलाई माफ गरिदिनोस् । मलाई माफ गरिदिनोस् । म पापी हुँ, आमा, पापी हुँ ।” भन्दै खुट्टामा छाँद हाली कल्पिकल्पि याचनाको भीख मागिरहेका थिए । तर मायाबत्तीको मन भने अहँ कत्ति पनि पग्लिएन ।
“तँ, पापीको छायासम्म नपरोस् मलाई । बुझिस् । मलाई छुनु त धेरै परको कुरा ।” मायाबत्तीले रिसले लात्तीले हिर्काउँदै भनिन् ।
“मायाबत्ती, अब तिम्रो हातमा छ अन्तिम निर्णय । तिमी आफ्नो छोरोलाई माफ गरिदिन चाहन्छ्यौ या सजाय दिन चाहन्छ्यौ ? भन तिमी के चाहन्छ्यौ ? यमराजले थप भारी प्रश्न गरे ।
“…”
तर मायाबत्तीले भने झट्ट कुनै जबाफ दिइनन् ।
यमराजले फेरि भने, “सोचेर, सम्झेर जबाफ देऊ मायाबत्ती । नर्कको आगोको मुटु हुन्न । नर्कको सजाय साह्रै कठोर र पीडादायक हुन्छन् । शायद, तिम्रो छोरोले सहन नसक्ला ? तिम्रो एउटा निर्णयले तिम्रो छोरोको जीवनमा ठूलै कायापलट ल्याउन सक्छ ।”
यमराजले यति भनिसकेपछि मायाबत्तीले आफ्नो कोखमा छोरोलाई कष्टपूर्ण नौ महिना राखेकी दिन सम्झिन् । पालनपोषण गरी छोरो हुर्किंदै जाँदा बूढेसकालको सहारा बन्छ कि भनेर मनमनै उमारेकी कलिला ती सुनौला सपनाहरू सम्झिन् । छोरोलाई बिहे गराएर नयाँ बुहारीसँगै रङ्गीन खुशीहरू हुर्काएकी दिन सम्झिन् ।
आफूलाई माया गर्ने श्रीमान मरेपछि आफू विधवा हुँदा छोराबुहारीबाट पाउनुसम्मको दुःख पाएकी ती काला दिन सम्झिन् । बुहारीको कुरा सुनी आफूलाई लातजुत्ता गर्दै कुटपिट गरी घरबाट निकालेको त्यो बीभत्स दिन सम्झिन् । आफू अर्धाङ्ग घात हुँदा गुमुतकै आहालमा डुब्नुपरेको त्यो घिनलाग्दो दिन सम्झिन् ।
यी सबैसबै सम्झेर उनी आक्रोशित हुँदै ज्ञानबहादुरलाई एक्कासि लात्तले प्रहार गर्दै छातीमा दायाँ खुट्टा टेकी र हेर्दाहेर्दै आफूलाई मायाबत्तीबाट नवदुर्गाको जादुझैं नौ रूप धारण गरिन् ।
पहिलो शैलपुत्रीको रूप – हिमालकी पुत्री तथा माता पार्वतीको पहिलो रूप ।
दोस्रो ब्रम्हाचारिणी रूप – ब्रम्हाचर्य पालन गर्ने तवस्विनी रूप ।
तेस्रो चन्द्रघण्टा रूप – शान्ति र साहस दिने देवी, जसको घण्टीजस्तो आवाजले राक्षसहरू नाश हुने गर्छन् ।
चौथो कूष्माण्डा रूप – ब्रम्हाण्ड सृष्टि गर्ने शक्ति अथवा उज्यालो फैलाउने देवी ।
पाँचौं स्कन्दमाता रूप – कार्तिकेयकी माता अथवा सम्पूर्ण मातृत्वको प्रतीककी धनी ।
छैठौं कात्यायनी रूप – ऋषि कात्यायनको तपस्याबाट जन्मेकी असुर विनाश गर्ने विनाशिनी ।
सातौं महागौरी रूप – उज्यालो, निर्मल र शुद्ध स्वरूप, पवित्रता र सौन्दर्यकी महाधनीकी देवी ।
आठौं सिद्धिदात्री रूप – सिद्धिहरू अथवा आठ सिद्धि दिने शक्ति तथा सम्पूर्ण वरदान प्रदान गर्ने माताको रूप ।
नवौं कालरात्री रूप – कालो रूप धारण गर्ने र दुष्टको लागि अत्यन्तै भयानक रूप धारण गर्ने तर भक्तका लागि भने लाभ गराउने देवीको महाशत्ति रूप ।
यही रूपलाई कसैले कालीमाँ भन्छन् त कसैले महाकाली । भनिन्छ, यो रूपदेखि महादेव पनि डराउने गर्छन् ।
मायाबत्तीले यही अन्तिम रूप धारण गर्दै क्रोधित हुँदै भनिन्, “हे यमराज, यो मेरो छोरो होइन । यो महाअपराधी हो, महाअपराधी । यसलाई नर्कको सबैभन्दा कठोरभन्दा कठोर सजाय दिने नर्क (हवियाह)को सजाय दिनुहोस् । यसलाई आगोको आहारा बनाइयोस् र भोकाउँदा पनि यसको पेटमा आगो नै आगो भरियोस् यमराज ।”
यति भनिसकेपछि मायाबत्ती कालरात्री रूपबाट आफ्नै स्वरूपमा एकाएक आई र समुद्र निदाएझैं शान्त भइन् ।
यमराजले क्रोधित हुँदै यमदूतलाई आदेश गर्दै भने, “हे यमदूत, यसलाई (हवियाह) नर्कमा जाकिदेऊ।”
दुईजना यमदूत मिली दुवैतिरबाट ज्ञानबहादुरको हात र खुट्टा समाई उनलाई सातौँ (हवियाह) नर्कको आगोमा हुत्याइदिए ।
***
ज्ञानबहादुर एक्कासि भयानक सपनीबाट आतिँदै ब्युँझिए । उनी टन्टलापुर घाममा बारी जोतेको बूढो गोरुझैं ज्यादै हाँपिरहेका थिए । उनी डरले लगलग काँप्न थाले । उनले एक्कासि आफ्नो छाती छामे।
उनलाई आफ्नो छाती आरनमा रातो पारिएको फलामझैं तातो नि तातो लाग्यो । उनले आफ्नो निधार र गाला पनि छामे । हतारहतारमा उनले आफ्नो पूरै शरीर छामे । उनलाई एकछिन लाग्यो, खड्कुँलामा खौलिरहेको गरम पानीझैं उनी स्वयम् खड्कुँलाभित्र खौलिरहेछ ।
उनले दायाँ हेरे । बायाँ हेरे । हातको घडी हेरे अनि भित्ते घडी पनि हेरे । दुवै घडीमा दिउँसोको ठीक २ बजिरहेको थियो ।
उनी जुरुक्क उठे र ह्याङ्गरमा टाङ्गिएको तौलीले खौलिरहेको पानीझैं बगिरहेको निधार र गालाको तातो पसिना पुछे । अनि जिउ, हात, खुट्टा र छाती सबै तिरका पसिना एकैसाथ पुछ्दै “खुइय” गर्दै लामो सुस्केरा हाल्दै उनी थुचुक्कै बसे ।
उनले सपनीमा देखेका भव्य र शानदार स्वर्ग सम्झिए । उनले आफैलाई हिर्काउने ती यमदूत सम्झिए। “अगमपुथी” पढ्ने चित्रगुप्त पनि सम्झिए । भयानक डरावना यमराजका रूप सम्झिए र छातीमा टेक्ने आफ्नै आमाको त्यो भयानक कालरात्री रूप सम्झिए ।
उनको सातोपुत्लो उड्नुसम्म उड्यो । उनलाई एकछिनलाई यस्तो लाग्यो, मानौं उनको पैतला तलको टेक्ने जमिन नै सातौं (हवियाह) नर्कको खौलिरहेको आगो हो ।
उनले एक्कासि नब्बे वर्षकी गुमुतमा डुबेकी आफ्नै अर्धाङ्ग घात आमा सम्झिए । अनि आफैले गरेको आमाप्रतिको त्यो घोर अत्याचार पनि एकेक गरी सम्झिए ।
उनी एकाएक जुरुक्क उठे र गुमुतमा सुतेकी अर्धाङ्गघात आमा भएतिर लागे । उनले आमाको खुट्टादेखि लिएर शिरसम्म मायाले भरिएका आँसुयुक्त आँखाले नियाले । आमाले एकोहोरो ज्ञानबहादुरलाई नै हेरिरहेकी झैं भान हुन्थ्यो ।
उनलाई लाग्यो, आमाले आफूलाई नै हेरिरहेकी छिन् । उनी आमाको शिर नजिक पुगे र झकझकाउँदै भने, “आमा । आमा ।”
तर अब ज्ञानबहादुरको आमा चिसो भैसकेकी थिइन् । उनी सदासदाका लागि लामो निद्रमा निदाइसकेकी थिइन् । उनले आमाका दुवै खुला आँखालाई हातले बन्द गरिदिए ।
उनी घाटको मुर्दा जलेझैं पश्चतापको आगोमा जलिरहे । अविरल जलिरहे । उनलाई न्वारानमा आफ्नो नाउ ज्ञानबहादुर राख्ने बाहुनलाई एकफेर चिथोर्न मन लाग्यो । उनलाई “म ज्ञानबहादुर होइन, म मूर्खको पनि महामूर्खबहादुर हुँ” भनेर चिच्याईचिच्याई कराउन मन लाग्यो ।
उनलाई आफ्नै नाम ज्ञानबहादुरदेखि घृणा लाग्नुसम्म लाग्यो । आमा बाँचेकी भए, जिन्दगीभरि आमाको सेवा गर्ने थिएँ भन्ने उनीभित्र चाहा टुसाएर आयो । तर अफसोच ! उनले त्यो सेवा गर्ने अवसर नै पाएनन् ।
उनले एकफेर सपनामा चित्रगुप्तले “अगमपुथी”भित्रका आफ्नै पापका बारेमा पढेका ती एकेक वाक्यहरू सम्झे ।
उनी एक्कासि ह्वाँ‘ह्वाँ गरी पश्चतापको रुवाइ रुनसम्म रोए ।
एकोहोरो रोइरहे ।
एकोहोरो रोइरहे ।
एकोहोरो नै रोइरहे ।