"हराएका छोराहरू" कवितासङ्ग्रहभित्रका केही कविताहरू

“Haraeka Chhoraharu (Poetry Collection) – Published in 2020 (2077 B.S.) by BN Pustak Bhandar It is a powerful collection of 55 contemporary symbolic poems, written with a strong emphasis on imagery and metaphor.”

हराएका छोराहरू

एक ढाकर खुसीहरू

जब ढाकर नै प्वाल परेर बाटोमा खसेपछि

बुढीआमा एकोहोरिएकी छिन् पूर्वतिर हेर्दै

बिहान उठ्ने घामसँगै

आफ्ना अरुण र बरुण जुरुक्क उठेर

टुप्लक्कै सिकुवामा आइपुग्छन् कि भनेर ।

 

रातको सिरानी लगाई

निदाएको घाम बिहानी सँधै ब्युँझिन्छ

फेरि निदाउँछ थाकेका निद्राको सिरक ओढेर

घाम उठ्नुभन्दा पहिले उठिन् बुढी आमा

बुढीआमासँगै निदाएका बिर्खेबा

तर उनी कहिल्यै उठेनन् घाम उठेजस्तै गरी

बिर्खेबाका लागि भाले कहिल्यै बासेनन् ।

 

जेठो छोरो जहिल्यै देश काँधमा बोक्छु भन्थ्यो

देश निकै भारी हुँदो रहेछ क्यारे

सकेन बोक्न र बिसाए देश आफै ढलेपछि

कान्छो छोरो पनि निकै देश बदल्छु भन्थ्यो

देश बदल्ने कलिला सपनाहरू थुन्सेमा बोकी

छिर्यो जङ्गल जनयुद्धका लागि ।

 

ऊ जनयोद्धाबाट सहिदमा बदलियो

शान्ति घोषणापछि बदलिए सारा नाराहरू

बदलिए सारा नारा लाउने सर्वहाराहरू

तर बदलिएन उसले बदल्न खोजेको देश

अरुण र बरुण समाधिमा निदाएजस्तै

साँच्चै भनूँ !

निदाइरहेछ मेरो देश मृत्युको शैयामा ।

 

तर, निदाइनन् ती बुढीआमा

अरुण र बरुण समाधिमा निदाएजस्तै

च्यातिएका सपनाहरू सबै पोको पारी

बिरामी देशलाई थुन्सेमा बोकी

सोलुखुम्बुको त्यो ठाडो उकालो

नथाकुन्जेल उक्लिरहिन्

उक्लिरहिन्

अविरल उक्लिरहिन्

आफ्नै देशमा हराएका छोराहरू खोज्दै ।

 

मेरा भोकहरू भोक्भोकै निदाउँछन्

ए जिन्दगी !

भन न तिमी किन मौन छौ ?

आफैलाई आफ्नै भोकहरूले

चिथोर्ने प्रश्नका काँडा बनेपछि

किन निरुत्तर छौ हँ ?

ए ! मेरा निरीह उत्तरहरू

मेरा भोकहरू जहिल्यै भोकभोकै निदाउँछन् ।

 

थहा छैन मलाई

फुटपाथमा आफ्ना भोकहरू बिछ्याउँदा

कतिले मलाई चपाएर अघाउने हुन् कुन्नि

फूलझैँ यौवन फुल्दैगर्दा

कतिले मलाई ओछ्याउने हुन् कुन्नि

यही सम्झेर म आतङ्कित हुँदै

ब्युँझिन्छु झसङ्गै भई भोकका बिछ्यौनाबाट ।

 

फरक यत्ति हो,

म ब्युँझिनुअघि चोरिन्छन् मेरा सम्पूर्ण यौवनहरू

तर, कहिल्यै चोरिएनन् मेरा ती भोका भोकहरू

ए जिन्दगी !

भन न तिमी किन मौन छौ ?

मेरा भोकहरू जहिल्यै भोकभोकै निदाउँछन् ।

 

थाहा छैन मलाई

कहाँ हुन्छ यौवनको उदर ?

र कहाँ लाग्छ यौवनको भोक ?

मलाई यत्ति थाहा छ,

केवल मलाई भोक लाग्छ, भोक

र त बिछ्याउँछु आफ्ना ती भोका भोकहरू

असरल्ल पारेर सहरका गल्ली र फुटपाथहरूमा

 

ए जिन्दगी !

भन न तिमी किन मौन छौ ?

मेरा भोकहरू जहिल्यै भोकभोकै निदाउँछन् ।

"हराएका छोराहरू" कवितासङ्ग्रह किन पढ्ने ?

“हराएका छोराहरू” यस कारणले पढ्ने । 

५५ कविताहरूको सशक्त सङ्ग्रह “हराएका छोराहरू” केवल कविता होइन—यो समय, समाज र मनुष्यता भित्र हराइरहेका आवाजहरूको खोजी हो। तीन तहमा विभाजित यस कृतिले पाठकलाई क्रमशः सरल भावभूमिबाट गहिरो प्रतीकात्मक यात्रातर्फ डोर्याउँछ।

पहिलो वर्गका कविताहरू सरल छन्—तर सतहभन्दा अलि गहिरिनासाथ जीवनका तीखा यथार्थहरू खुल्दै जान्छन्। दोस्रो वर्गमा वक्रोक्ति, विम्ब र प्रतीकहरूको मध्यम प्रयोग छ—पाठकलाई सोच्न बाध्य पार्ने, तर पूर्णतः अबुझ नहुने। तेस्रो वर्ग भने प्रयोगात्मक, लाक्षणिक र प्रतीकात्मक शिल्पमा निर्मित छ—जहाँ शब्दहरू सीधा बोल्दैनन्, संकेत गर्छन्; अर्थहरू सतहमा होइन, तहमा भेटिन्छन्।

यही कारण कतिपय समालोचकहरूले लेखकलाई विम्बकवि भने, कसैले समकालीन प्रयोगधर्मी धाराको सशक्त आवाज ठाने, त कसैले प्रगतिशील चेतनाका प्रतिनिधि कवि भनेर मूल्याङ्कन गरे।

“हराएका छोराहरू” पढ्नु भनेको केवल कविता पढ्नु होइन—आफ्नै समय, आफ्नै पीडा र आफ्नै हराइरहेका स्वप्नहरूसँग साक्षात्कार गर्नु हो। यदि तपाईं शब्दभित्र लुकेको अर्थको ढोका खोल्न चाहनुहुन्छ भने, यो सङ्ग्रह तपाईंका लागि प्रतीक्षारत छ र यसैभित्रको तलको हरियो बटनको क्रिटिसिजम लिङ्क थिची मैले “विद्रोही स्वर”लाई लिएर लेखेकी मेरो समालोचना पढ्नुहोला । 

समालोचक – उषा आचार्य (ढकाल)
1) Deshko Cina ( Collection of Quatrain) 

"हराएका छोराहरू"भित्रका पूर्ण कविताहरू पढ्नलालई तलको PDF Download गर्नुहोला ।

Scroll to Top